नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको 'अग्रज खेल पत्रकारिता सम्मान २०८३' बाट वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत तथा 'सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार -२०८३' बाट नायक पौडेल पुरस्कृत भएका छन्।
मञ्चको २१ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले दुवै पत्रकारलाई सम्मानित गरे। अग्रज सम्मान पाएका राउतले सम्मान पत्र सहित नगद ३५ हजार तथा अनुज पत्रकार नायकलाई ल्यापटप पुरस्कार प्रदान गरिएको थियो।
हाल लोकान्तर अनलाइनमा कार्यरत खेल पत्रकार रोशन सिंह राउतले झन्डै ३ दशक खेलकुद पत्रकारितामा बिताएका छन्। सो क्रममा उनले श्री सगरमाथा र एभरेस्ट हेराल्ड हुँदै रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, स्पेस टाइम्समा काम गरेका थिए। साथै अन्नपूर्ण पोस्टमा उनले दुई दशक खेलकुद ब्युरो प्रमुखका रूपमा काम गरेका थिए।
सो क्रममा उनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता देखि एसियाली खेलकुद अनि फिफा विश्वकप छनोट देखि एसीसी ट्रफी सम्मको फिल्ड रिपोर्टिङ गरेका छन्।
रोशनले पूर्वाञ्चल विश्व विद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातक तह उत्तीर्ण गरेका छन्।
सम्मान प्राप्त गरेपछि रोशन सिंह राउतले भने, " मैले विभिन्न ठाउँबाट सम्मान पाएको छु। तर यो सम्मान मेरो लागि अति विशेष छ। किनकि यो मैले आफ्नै परिवारबाट पाएको हुँ।"
यसैगरी सुमन भोम्जन युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत युवा पत्रकार नायकले द राइजिङ नेपाल हुँदै द काठमान्डु पोस्ट अंग्रेजी दैनिकमा काम गरेका छन्।
उनले कम्युनिकेसन एन्ड जर्नालिजममा स्नातक अनि अँग्रेजीमा स्नाकत्तोर गरेका उनले गत वर्ष एएफसी महिला एसियन कप छनोट कप र टी-२० क्रिकेट विश्वकपमा उत्कृष्ट समाचार सम्प्रेषण गरेका थिए।
पुरस्कार प्राप्त गरेपछि उनले भने, " अग्रज पत्रकारहरूको प्रेरणाले गर्दा म यो पुरस्कारको हकदार हुन सकेँ। यस्तो प्रेरणा भविष्यमा पनि पाइरहने विश्वास छ।"
समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले पुरस्कृत पत्रकारलाई बधाई दिँदै मञ्चको साधारण सभाको सफलताको कामना गरेका थिए।