छैटौं एसियाली बिच खेलकुदअन्तर्गत महिला कबड्डीमा कांस्य पदक जितेको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ।
टोलीलाई युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल कबड्डी संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
चीनको सान्यमा भएको खेलकुदअन्तर्गत अप्रिल २३ देखि २७ तारिखसम्म भएको महिला कबड्डीमा नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो।
समूह ‘बी’ मा नेपालले चाइनिज ताइपेइ, थाइल्यान्ड र बंगलादेशलाई हराउदै विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा नेपाल श्रीलंकासंग पराजित भएको थियो ।
खेलाडी टोलीमा मानमति विष्ट (कप्तान), अनुजा कुलुङ राई (उप कप्तान), रविना चौधरी, सिर्जना थारु, मिना नेपाली र नानुमाया पराजुली रहेका छन् ।
प्रशिक्षकमा रतिाया राजवंशी छन् । टोलीसंगै अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा पनि नेपाल फर्किएका छन् ।
चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । त्यसबेला बिच खेलकुदमा सहभागी मिना र नानुमाया बाहेक चारै खेलाडी टोलीमा थिए ।