जापानको इची-नागोयामा भइरहेको २०औं एसियाली खेलकुदमा नेपालको प्रदर्शन खासै सुधार हुन सकेको छैन।
चौथो दिनको खेल भइरहदा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन।
मंगलबार नेपालको महिला कराते टोली पदक जित्नबाट चुक्यो।
कास्य पदकका लागि महिला काता टिम इभेन्टमा नेपालमाथि चाइनिज ताइपेइले ५-० अंकको जित निकाल्यो।
नेपालको टोलीमा सानुमाया थिङ, एलिसा रास्कोटी मगर र मेघा लिम्बूले प्रतिस्पर्धा गरेका थिए।
यता बक्सिङको ५१ केजी तौल समूहको पहिलो चरणमा नेपालकी रसिशा श्रेष्ठले भियतनामकी न्युगेनसँग ५-० को हार ब्यहोरिन्।
कबड्डीको पुरुषतर्फ समूह बीमा नेपालले पराजय भोग्यो। नेपालमाथि पाकिस्तानले ५८-४३ को जित निकाल्यो।
महिलातर्फ नेपालले थाइल्यान्डमाथि जित निकाल्यो। नेपालले ४६-४३ को रोमाञ्चक जित निकालेको हो।
टेबलटेनिसको मिक्स डबल्समा नेपालका रुविन महर्जन र इभाना थापाको जोडीले पाकिस्तानका मुहम्मद खान र कस्लुम खानको जोडीलाई ११–६, ११–८ र ११–४ को सोझो सेटमा पराजित गर्न सफल भएका छन्।