जापानका ११ वर्षीय युकी कुरिहारा एसियन गेम्समा स्वर्ण जित्ने सबैभन्दा कम उमेरका जापानी खेलाडी बनेका छन्।
प्राथमिक तहमा अध्ययनरत कुरिहाराले २०औँ एसियन गेम्समा ई–स्पोर्ट्सस्वर्ण जित्दै सनसनी मच्चाएका हुन्।
कुरिहाराले शनिबार भएको फाइनलमा दक्षिण कोरियाका २४ वर्षीय काङ डोङसिनलाई १०–२ ले पराजित गर्दै स्वर्ण आफ्नो नाममा गरे। त्यसअघि सेमिफाइनलमा उनले थाइल्यान्डका २८ वर्षीय तानाराक वोंगकिटकुनलाई १०–१ ले हराएका थिए।
आफूभन्दा झण्डै तीन गुणा उमेरका खेलाडीलाई लगातार पराजित गर्दै स्वर्ण जितेपछि कुरिहारा एसियन गेम्सकै चर्चाको केन्द्रमा पुगेका छन्।
स्वर्ण जितेपछि ११ वर्षीय कुरिहाराले भने, ‘म निकै खुसी छु। स्वर्ण पदक निकै सुन्दर, चम्किलो र भारी छ।’
उनले जितेको ‘पुयो पुयो’ जापानमा विकास गरिएको लोकप्रिय पजल गेम हो, जुन केही हदसम्म टेट्रिससँग मिल्दोजुल्दो छ। खेलाडीले विभिन्न रङका आकृतिहरू मिलाएर विस्फोट गराउँदै लगातार ‘चेन रियाक्सन’ बनाउने गर्छन्।
कुरिहाराले एसियन गेम्समा जापानको प्रतिनिधित्व गर्ने स्थान १० वर्षकै उमेरमा पक्का गरेका थिए। प्रतियोगिताका लागि तयारी गर्दा उनले विद्यालय र अतिरिक्त कक्षासँगै प्रशिक्षणलाई पनि सन्तुलनमा राख्नुपरेको थियो।
एसियन गेम्समा ई–स्पोर्ट्सले पछिल्ला दुई संस्करणदेखि स्थान पाउँदै आएको छ। यसपटक ई–स्पोर्ट्समा ११ वटा पदक स्पर्धा राखिएका छन्।
११ वर्षको उमेरमा एसियन गेम्सको स्वर्ण—युकी कुरिहाराको यो उपलब्धिले जापानको खेलकुद इतिहासमा नयाँ अध्याय थपेको छ।