अस्ट्रेलियन नेपाली पत्रकार संघ (एन्जा) र एनआरएन अस्ट्रेलियाले अमेरिका निवासी तेक्वान्दोका ग्राण्डमास्टर दिवाकर महर्जन र समाज टाइम्सका प्रधान सम्पादक बिष्णुहरि घिमिरेलाई संयुक्तरुपमा सिड्नीमा स्वागत तथा सम्मान गरेको छ।
एनआरएन आइसिसी उपाध्यक्ष दीनेश पोखरेल र आइसिसी सदस्य राजेस केसी ,एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष वीजन चौलागाई तथा एन्जा अध्यक्ष कृष्ण तिवारीले कार्यक्रममा महर्जन र घिमिरेलाई खादा लगाएर सम्नान ब्यक्त गरेका थिए ।
ग्राण्डमास्टर महर्जन र संचारकर्मी घिमीरे नोभेम्बर २८ र २९ तारिख मेलबर्नमा आयोजना हुने १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) का लागि अस्ट्रेलिया आएका हुन्।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष दिनेश पोखरेलले अमेरिकामा बसेर खेलकुदको माध्यमबाट नेपालको प्रतीष्ठा कायम गर्ने ग्रान्डमास्टर महर्जन सम्मानका हकदार भएको बताए ।
एनआरएनए आइसीसी उपाध्यक्ष पोखरेलले मेलबर्नमा आयोजना हुने च्याम्पियनसिपलाई आफ्नो साथ र समर्थन रहने बताए। उनले प्रतियोगिताको सफलताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा ग्राण्डमास्टर महर्जनले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव दिलाउने उद्देश्यले २६ वर्षअघि नेपालबाटै आइओएफटीसी सुरु गरेको बताए। विदेशमा रहे पनि नेपालको तेक्वान्दो खेलको विकासका लागि आफू निरन्तर सक्रिय रहेको उनको भनाइ थियो। महर्जन अमेरिकामा तेक्वान्दो स्कुल सञ्चालन गर्ने पहिलो नेपाली हुन्।
उनले सन् १९९५ मा अमेरिकाको ओरेगन राज्यस्थित पोर्टल्यान्डमा यूएवर्ल्ड क्लास तेक्वान्दो हलिउड स्थापना गरेका थिए। सन् २००० देखि आइओएफटीसी सुरु गरेका महर्जन यस प्रतियोगिताका निर्देशकसमेत हुन्। महर्जनका अनुसार यसपटकको प्रतियोगितामा विभिन्न देशका करिब दुई सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको रजत जयन्तीका अवसरमा १५औँ संस्करण अघिल्लो वर्ष नेपालमा आयोजना गरिएको थियो। ३१ वर्षअघि नै अमेरिकामा तेक्वान्दो स्कुल स्थापना गरेर गुरु बनेका महर्जनलाई सम्मान गर्न पाउनु गौरवको विषय रहेको एनआरएनका कोषाध्यक्ष नीजन चौलागाईले सुनाए। आठौँ डान प्राप्त महर्जनको उपलब्धि र सफलताप्रति सबै नेपालीले गर्व गर्नुपर्ने एन्जाका अध्यक्ष कृष्ण तिवारीले बताए।