अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको छ।
अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।
लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्यो ।
पहिलो सेटमा २१–२५ ले पछि परेको अन्नपूर्णले बाँकी सेटको नतिजा लगातार आफ्नो पक्षमा पा¥यो । अन्नपूर्णले दोश्रोमा २५–२३, तेश्रोमा २५–१४ र चौथोमा २५–२० को प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो । अन्नपूर्णका एन्ख एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए ।
छ टिम सहभागी लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवरजासंग ३–१ ले पराजित भएको थियो ।
अन्नपूर्णले दोश्रो खेलमा काठमाडौं रेड्सलाई ३–०, तेश्रोमा मधेश वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० ले हराएको थियो ।
सगरमाथा लगातार तेश्रो हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ । अन्नपूर्णसंग पराजित हुनुअघि सगरमाथा कर्णालीसंग ३–२ तथा काठमाडौं रेड्ससंग ३–० ले चुकेको थियो । २ खेल जितेको सगरमाथाले मधेशलाई ३–१ र खप्तडलाई ३–० ले हराएको थियो।
प्रतियोगिताअन्तर्गत बिहीबारै २ खेल हुन बाँकी छ । मधेश र कर्णालीबीच ४ः०० बजे र काठमाडौं रेड्स र खप्तडबीच ७ः०० बजे खेल हुनेछ ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।
नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । फाइनल भदौ २७ गते हुनेछ।