२०औं एसियाली खेलकुदको औपचारिक उदघाटनअघि सुरु भएको महिला भलिबलको प्रतिस्पर्धामा नेपाल पराजित भएको छ।
नेपाललाई बुधबार भएको प्रारम्भिक चरणको पुल-१ को खेलमा आयोजक जापानले ३-० सेटमा पराजित गरेको हो।
नेपालले पहिलो सेट २५-८ ले गुमाएको थियो। दोस्रो सेटमा केही सुधारिएको प्रदर्शन गरेको नेपाल २५-१२ ले पराजित भयो।
तेस्रो सेटमा २५-११ ले पराजित भएसँगै बलियो जापानसँग सोझो सेटमा पराजित भयो।
जापान यो समूहको बलियो टोली हो। जापान छैटौं स्थानमा छ भने नेपाल ६९औं स्थानमा छ। अब नेपालले दोस्रो खेलमा बिहीबार इन्डोनेसियासँग खेल्नेछ। इन्डोनेसिया विश्व वरीयताको ५३औं स्थानमा छ। इन्डोनेसियालाई हराए नेपालको अन्तिम आठमा पुग्ने सम्भावना हुनेछ।
२०औं एसियाली खेलकुदमा नेपालले विभिन्न २१ खेलमा प्रतिस्पर्धा गर्दैछ भने १३५ खेलाडी सहभागी हुँदैछन्।