तनहुँको बन्दीपुर गाउँपालिका–२ थारूबासमा आयोजित नवौं गोरखकाली (जिवाइसी) कप–२०८३ गाउँस्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि हरिनास गाउँपालिका–६ ले जितेको छ।
सोमबार हरितालिका तीजका दिन भएको फाइनलमा हरिनास–६ ले आयोजक गोरखकाली युवा क्लब बन्दीपुर–४ भुमर्सेलाई लगातार तीन सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।
फाइनल खेल बेस्ट अफ फाइभ प्रणालीमा खेलाइएको थियो।
उपाधिसँगै हरिनास–६ ले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
आयोजक गोरखकाली युवा क्लब ५१ हजार १ सय ११ रुपैयाँसहित दोस्रो तथा सेराटार युवा क्लब बन्दीपुर ३१ हजार १ सय ११ रुपैयाँसहित तेस्रो भएको छ।
तेस्रो स्थानका लागि भएको खेलमा सेराटार युवा क्लबले मिलिजुली युवा क्लब खहरेलाई पराजित गरेको थियो। पाँच सेटसम्म चलेको खेलमा सेराटारले पहिलो र दोस्रो सेट जितेको थियो भने मिलिजुलीले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पारेको थियो। निर्णायक पाँचौं सेटमा सेराटारले जित निकाल्दै तेस्रो स्थान सुरक्षित गरेको हो।
प्रतियोगितामा सेराटार युवा क्लबका सुगम सुनार उत्कृष्ट सटर घोषित भए। आयोजक गोरखकाली युवा क्लबका संगीत मानन्धर उत्कृष्ट क्लिन अट्याकर, सुभाष थापा उत्कृष्ट डिफेन्डर र सुशील खड्का उत्कृष्ट स्पाइकर घोषित भए। विक्की गुरूङ उत्कृष्ट टिम कोच तथा विकल थापा उत्कृष्ट खेलाडी घोषित भए।
प्रतियोगिताका क्रममा गोरखकाली युवा क्लबका पूर्वअध्यक्ष स्वर्गीय यामबहादुर थापाकी छोरीलाई २० हजार रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो।
गोरखकाली युवा क्लबका सचिव सुदिन पौडेलका अनुसार गाउँस्तरमा भलिबल खेलको विकास, स्थानीय खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
उनका अनुसार यस वर्षको प्रतियोगिता बन्दीपुरकै सर्वाधिक पुरस्कार राशिसहित आयोजना गरिएको थियो।