जब गत मार्चको अन्त्यमा इराकको फुटबल टोलीले विश्वकपका लागि छनोट भयो, अब्दुल्ला अदनानले निकै उत्साहका साथ आफ्नो देशको खेलका लागि टिकट किने। यस महिना अमेरिकाको बोस्टन र फिलाडेल्फियामा हुने नर्वे र फ्रान्स विरुद्धका खेलहरू हेर्न उनी निकै आतुर थिए।
‘रंगशालामा गएर आफ्नो टोलीको समर्थनमा हुटिङ गर्नु मेरो लागि संसारकै सबैभन्दा ठूलो खुसी हो,’ उनी भन्छन्। इराक सन् १९८६ पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो, त्यसैले यो फ्यानहरूका लागि निकै भावुक क्षण थियो। तर, अमेरिकाको भिसा पाउनु अदनानका लागि असम्भव जस्तै बनेको छ।
अदनान मात्र होइन विश्वकपमा सहभागी हुने कुल देशहरूमध्ये एक चौथाइभन्दा बढी देशका फ्यानहरूले यस्तै समस्या भोगिरहेका छन्। बीबीसी वर्ल्ड सर्भिसको विश्लेषण अनुसार धेरै देशका नागरिकलाई अमेरिकाले यात्रा प्रतिबन्ध लगाएको छ, भिसा नियम कडा पारेको छ वा भिसा अस्विकार गर्ने दर निकै उच्च छ।
इराकमा अमेरिकी दूतावासले सुरक्षा कारण देखाउँदै भिसा सेवा बन्द गरेको छ। त्यसैले अदनान भिसा अन्तर्वार्ताका लागि छिमेकी देश जोर्डन पुगे। त्यहाँ करिब १८०० डलर (करिब २ लाख ४० हजार नेपाली रुपैयाँ) खर्च गरेर पुग्दा दूतावासले उनलाई 'तिमी जोर्डनको नागरिक नभएकाले यहाँबाट भिसा मिल्दैन' भन्दै फर्काइदियो। त्यसपछि टर्की जाने विकल्प भए पनि त्यहाँ धेरै समय लाग्ने भएपछि उनले अन्ततः विश्वकप हेर्न जाने सपना नै त्यागेका छन्।
आईभोरी कोस्ट र सेनेगल जस्ता देशका फ्यानहरूले अमेरिकाको यो नीतिलाई ‘रंगभेदको एउटा रूप’ भनेका छन्।
ट्रम्प प्रशासनले केही देशका नागरिकलाई पर्यटक भिसामा कडाइ गरेको छ। आईभोरी कोस्टका फ्यान एसोसिएसनका जुलियन कुआडियो एडोनिस भन्छन्, ‘कुनै पनि युरोपेली देशले यस्तो प्रतिबन्ध भोग्नुपरेको छैन। अफ्रिकालाई मात्र किन? जसले समर्थकलाई स्वागत गर्न सक्दैन, उसलाई विश्वकप आयोजना गर्न दिनु हुँदैन।’
विश्वका धनी ४२ देशका नागरिकले मात्र अनलाइनबाट सजिलै ४० डलर तिरेर यात्रा अनुमति पाउँछन्। यो सूचीमा एउटै पनि अफ्रिकी देश छैन।
अन्य देशका फ्यानले १८५ डलर तिरेर अन्तर्वार्ता दिनुपर्छ, जसमा उनीहरूले 'खेलपछि आफ्नै देश फर्किने' ग्यारेन्टी देखाउनुपर्छ।
विश्वकपमा छनोट भएका ११ देशहरू (जस्तै: सेनेगल, घाना, इरान, जोर्डन, इजिप्ट आदि) को भिसा अस्विकार हुने दर ४०% भन्दा बढी छ। सेनेगलको त ७०% भन्दा बढी भिसा अस्विकार गरिन्छ।
जोर्डनको फुटबल फ्यान एसोसिएसनका प्रमुख अबु कास आफैँले भिसा पाएनन्। उनले अन्तर्वार्ताका लागि ४२ वटा कागजात बुझाएका थिए, तर अमेरिकाले कुनै कारण नदिई उनको आवेदन रद्द गरिदियो। उनी भन्छन्, ‘यो विश्वकप हाम्रा लागि होइन, उनीहरूका लागि मात्रै हो। यदि फ्यान एसोसिएसनको प्रमुखले नै भिसा पाउँदैन भने अरूले कसरी पाउलान्?’
अमेरिकी विदेश मन्त्रालयले भने सुरक्षा जाँच र कानुनी प्रक्रियाका कारण केही ढिलाइ वा कडाइ भएको बताएको छ। उनीहरूका अनुसार अमेरिकामा भिसा अवधि सकिएपछि पनि लुकिछिपी बस्ने मानिसहरूको सङ्ख्या धेरै भएकाले नियम कडा पारिएको हो।
यो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। तर मुख्य खेलहरू अमेरिकामै छन्। क्यानडा र मेक्सिकोको भिसा नियम पनि सहज छैन। कतिपय देशमा त मेक्सिकोको दूतावास नै छैन, जसले गर्दा फ्यानहरूलाई झनै सास्ती भएको छ।