फुटबलको सबैभन्दा ठूलो उत्सव 'फिफा विश्वकप' को चर्चा र उत्साह विश्वभर चुलिँदै गएको छ। झण्डै १०० वर्षको इतिहासमा पहिलो पटक यो प्रतियोगिता तीनवटा देश मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्दैछन्।
१. मुख्य मिति र नियम:
उद्घाटन खेल: ११ जुन, मेक्सिको सिटी उद्घाटन खेलमा नेपाली समयअनुसार बिहीबार राती १२:४५ बजे सहआयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्नेछन्।
फाइनल खेल: १९ जुलाई, न्यु जर्सी (अमेरिका)।
टोली सङ्ख्या: ४८ देश (पहिले ३२ हुन्थे)।
समूह विभाजन: ४८ टोलीलाई १२ वटा समूहमा विभाजन गरिएको छ (प्रत्येक समूहमा ४ टोली)।
छनोट प्रक्रिया: हरेक समूहका शीर्ष दुई टोलीहरू सिधै 'राउण्ड अफ ३२' मा प्रवेश गर्नेछन्। बाँकी ८ टोलीहरू तेस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट नतिजाका आधारमा छनोट हुनेछन्।
खेल ९० मिनेटको हुन्छ (४५–४५ मिनेटका दुई हाफ)। बीचमा १५ मिनेटको विश्राम हुन्छ।
अंक: जित्नेलाई ३ अङ्क, बराबरी भए दुवैलाई १–१ अङ्क र हार्नेलाई शून्य अङ्क दिइन्छ।
समूह चरणमा पेनाल्टी सुटआउट हुँदैन। नकआउट चरणमा खेल बराबरी भए ३० मिनेट अतिरिक्त समय खेलिनेछ र त्यसपछि पनि निर्णय नभए पेनाल्टी सुटआउट हुनेछ।
२. आयोजक सहरहरू
मेक्सिको: ग्वाडालाजारा, मोन्टेरे र मेक्सिको सिटी।
क्यानडा: टोरन्टो र भ्यानकुभर।
अमेरिका: एटलान्टा, बोस्टन, डल्लास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मायामी, न्युयोर्क/न्युजर्सी, फिलाडेल्फिया, सान फ्रान्सिस्को र सियाटल।
३. उपाधिका दाबेदार र स्टार खेलाडीहरू
यस पटक फ्रान्स र स्पेनलाई मुख्य दाबेदार मानिएको छ।
फ्रान्स: केलियन एमबाप्पे र ओस्मान डेम्बेले जस्ता स्टार खेलाडीहरूले टोलीलाई बलियो बनाएका छन्।
स्पेन: १८ वर्षीय युवा प्रतिभा लमिन यामलको जादु हेर्न सबै आतुर छन्।
अन्य दाबेदार: लगातार दुई पटक युरो कपको फाइनल पुगेको इंग्ल्याण्ड र कीर्तिमानी ५ पटकको विजेता ब्राजिल पनि बलिया प्रतिद्वन्द्वी हुन्। ब्राजिल सन् २००२ पछि पहिलो पटक छैटौँ उपाधि जित्ने दाउमा छ।
नजरमा रहने खेलाडी:
लिओनल मेस्सी (३९ वर्ष) र क्रिस्टियानो रोनाल्डो (४१ वर्ष) को यो सम्भवतः अन्तिम विश्वकप हुनेछ। साथै नेइमार, भिनिसियस जुनियर, जुड बेलिङ्घम, इर्लिंग हालान्ड र दक्षिण कोरियाका सन ह्युङ-मिन जस्ता खेलाडीहरूको खेल निकै रोमाञ्चक हुने अपेक्षा छ।
४. पहिलो पटक विश्वकप खेल्दै गरेका देशहरू
यस पटक केही साना र नयाँ राष्ट्रहरूले इतिहास रच्दै छन्:
कुरासाओ : मात्र १ लाख ५६ हजार जनसङ्ख्या भएको यो देश विश्वकप खेल्ने अहिलेसम्मकै सबैभन्दा सानो राष्ट्र बनेको छ।
केप भर्डे: यो विश्वकप खेल्ने तेस्रो सानो देश हो।
जोर्डन: पहिलो पटक छनोट भएको जोर्डनका प्रशिक्षक जमाल सेलामीलाई यो सफलताका लागि राजा अब्दुल्लाह द्वितीयले नागरिकता प्रदान गरेका छन्।
उज्बेकिस्तान: इटालीलाई विश्वकप जिताउने कप्तान फाबियो कान्नाभारोको प्रशिक्षणमा उज्बेकिस्तानले पहिलो पटक विश्वकप खेल्दैछ।
५. केही रोचक र ऐतिहासिक भिडन्तहरू
फ्रान्स विरुद्ध सेनेगल (१६ जुन): ऐतिहासिक उपनिवेशकालीन सम्बन्ध र २००२ को विश्वकपमा सेनेगलले फ्रान्सलाई हराएको यादले यो खेल चर्चामा छ।
इरान विरुद्ध इजिप्ट: सियाटलमा हुने यो खेललाई 'प्राइड' म्याचको नाम दिइएको छ, जसमा दुवै देशका फुटबल महासङ्घले फिफासमक्ष असन्तुष्टि जनाएका छन्।
इरान विरुद्ध अमेरिका: राजनीतिक तनावका बीच इरानले आफ्ना सबै खेल अमेरिकामा खेल्नेछ तर आफ्नो बेस क्याम्प मेक्सिकोमा राख्ने निर्णय गरेको छ।
हाइटी र स्कटल्याण्ड: हाइटी ५२ वर्षपछि र स्कटल्याण्ड २८ वर्षपछि विश्वकपमा फर्किएका छन्।
विश्वकप २०२६: समूह विभाजन
|
समूह ए
|
मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक
|
|
समूह बी
|
क्यानडा, बोस्निया-हर्जगोभिना, कतार, स्विट्जरल्याण्ड
|
|
समूह सी
|
ब्राजिल, मोरक्को, हाइटी, स्कटल्याण्ड
|
|
समूह डी
|
अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्की
|
|
समूह इ
|
जर्मनी, कुरासाओ, आइभरी कोस्ट, इक्वेडर
|
|
समूह एफ
|
नेदरल्याण्ड्स, जापान, स्वीडेन, ट्युनिसिया
|
|
समूह जी
|
बेल्जियम, इजिप्ट, इरान, न्युजिल्याण्ड
|
|
समूह एच
|
स्पेन, केप भर्डे, साउदी अरब, उरुग्वे
|
|
समूह आई
|
फ्रान्स, सेनेगल, इराक, नर्वे
|
|
समूह जे
|
अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
|
|
समूह के
|
पोर्चुगल, कंगो डीआर, उज्बेकिस्तान, कोलम्बिया
|
|
समूह एल
|
इंग्ल्याण्ड, क्रोएसिया, घाना, पानामा
|
नेपाली दर्शकका लागि विशेष जानकारी
नेपाल र आयोजक देशहरू बीचको समय भिन्नताका कारण खेलहरू नेपाली समय अनुसार अबेर राति र बिहान सबेरै हुनेछन्।
खेलको समय: राति १२:४५, १:००, २:०० देखि बिहान ४:४५, ५:४५ र ७:४५ सम्म।
कहाँ हेर्ने? नेपालमा विश्वकपका सबै खेलहरू हिमालयन स्पोर्ट्स टेलिभिजन र डिएगो एपबाट प्रत्यक्ष प्रसारण हुनेछन्। यसका लागि निश्चित शूल्क तिर्न पर्नेछ।