नेपाल मुक्तक प्रतिष्ठान मार्फत मुक्तकको उन्नयनमा क्रियाशील मुक्तककार रामकाजी कोनेले ब्रेल लिपिमा मुक्तक संग्रह ल्याएका छन्–मुक्तक मोह ।
दृष्टिविहीनहरूलाई मुक्तक पढाएर मुक्तक लेखनमा प्रोत्साहित गराउन ‘मुक्तक मोह’ प्रकाशन गरिएको कोने बताउँछन्। यो नेपाली साहित्यको पहिलो ब्रेल मुक्तक संग्रह हो।
प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा ६९ मुक्तक छन्। पुस्तकमा जीवनका सबै रंग भेटिन्छ। मुक्तकमा उनले व्यावहारिक, दार्शनिक, धार्मिक, सामाजिक, प्रेमिल र राष्ट्रिय भाव पस्केका छन्।
पुस्तकको पहिलो खण्डमा ब्रेल लिपिमा मुक्तक छन्, दृष्टिविहीनले छामेर पढ्न सक्छन्। दोस्रो खण्डमा तिनै मुक्तक नेपाली भाषामा पनि छ। पुस्तकको अन्त्यमा नीशा केसीले ‘मुक्तक कसरी लेख्ने’ शीर्षक लेखमा सैद्धान्तिक परिभाषा, तत्व आदिको जानकारी दिएकी छिन्।
‘मुक्तक मोह’ कोनेको चौंथो कृति हो । यस अघि उनले ‘मुक्तक मेला’, ‘मुक्तक मन्त्र’ र ‘मुक्तक मोहिनी’ नामक कृति निकालेका थिए।
मुक्तक मोहको विमोचन क्रममा कोनेले दृष्टिविहिन प्रतिभाले लेखेका मुक्तकको पुस्तक र सिडी निकाल्ने घोषणा गरेका थिए । विमोचन गत फागुन २५ गते काठमाडौंमा भएको थियो ।
२०७० सालमा स्थापित प्रतिष्ठानका अध्यक्ष कोने स्थापित पर्यटन व्यवसायी पनि हुन् ।