चर्चित गीत 'आई एम भेरी सरी'का गायक प्रवेश मल्लिकले होलीको गीत सार्वजनिक गरेका छन्। होलीको संघारमा शुक्रबार युट्युबमा सार्वजनिक मैथिली भाषाको परदेशिया बोलको गीतमा प्रवेशलाई सवानी मुग्दलले गायनमा साथ दिएकी छिन्। मैथिली लोकगीत र धुनलाई रिमेक गरी गाइएको यस गीतको मिक्सिङ, प्रोग्रामिङ र संयोजन प्रवेश आफैंले गरेका छन्।
प्रवेश विगत पाँच वर्षदेखि मुम्बईमा छन्। आफ्नाे नयाँ गीतबारे सेतोपाटीसँगको कुराकानीमा उनले भने, ‘मिथिलाको लाेक र संगीत परम्परा सम्पन्न छ।त्यही विशेषता देखाउन युवा पुस्तालाई लक्षित गरेर डान्स बिटमा परदेशिया गीत बनाइएको हो।’
होलीमा शास्त्रीय र लोक संगीत मिसिने, नेपाल र भारतको होलीको संगीतमा केही न केही समानता पाइने प्रवेशको बुझाइ छ। उनी भन्छन्, 'फरक ठाउँका मान्छे भए पनि एउटै घरको मान्छेजस्तो लाग्छ।’
उनको यस्तो सोच गीतको भिडियोमा झल्किएको छ। भिडियोमा नेपाल र भारत दुवै क्षेत्रका दर्जनभन्दा बढी मैथिल समुदायका महिलाहरुलाई फिचरिङ गरिएको छ। प्रवेशको बुझाइमा हरेक महोत्सव महिला बिना अधुरो हुन्छ। उनी नाचगान र रमाइलो गर्ने पर्व होलीमा मौकाको फाइदा उठाइ महिलामाथि गरिने छेडखानीको निन्दा गर्छन्।
होलीको सांस्कृतिक महत्व नबुझ्दा यो पर्व उच्छृंखल बनेकोले आफूले सचेत रुपमै परिवारसँग बसेर सुन्न, गाउन र हेर्न सकिने होली गीत बनाएकाे उनले बताए। ‘परदेशियाको शब्दमा अश्लिलता छैन। यसको भिडियोले पनि महिलालाई सकारात्मक रुपमा प्रस्तुत गरेको छ।’
होलीमा संगीतजस्तै फरक भाषा पनि मिसाउने सक्ने बताउने प्रवेशले परदेशियाको बीचमा र्याप पनि गाएका छन्। संगीतमा अनेक प्रयोग गर्न प्रवेश भन्छन्, 'परदेशियामा पनि परम्परागत संगीतलाई नयाँ पुस्ताले मन पराउने गरी प्रयोग गरिएको छ।’
संरक्षण, फाटेको जुत्ताजस्ता नेपाली सिनेमामा काम गरेका उनले जय गंगाजल, बरेली की बर्फीलगायतका हिन्दी सिनेमामा काम गरेका छन्। यसअघि संरक्षणमा पनि उनले आफ्नै संगीतमा 'होरी' बोलको गीत गाइसकेका छन्।