कोभिड-१९ का कारण भौतिक दूरी कायम गरी औपचारिक कार्यक्रम गर्न नसकेपछि यो वर्ष ८३ औं भारती खरेल स्मृति पुरस्कार वितरण गर्ने कार्यक्रम स्थगित गरिएको छ।
वर्षै पिच्छे साहित्य साधिका तथा भक्तिमती भारती खरेलको जन्मजयन्तीको अवसरमा आयोजना हुँदै आएको पुरस्कार वितरण कार्यक्रम परिस्थिति अनुकूल भएपछि आयोजना गरिने भारती खरेल प्रतिष्ठानले जनाएको छ।
'कोभिड-१९ का कारण यो वर्ष भौतिक दूरी कायम गर्दै औपचारिक समारोह आयोजना गर्न सकेनौं। परिस्थिति अनुकूल भएपछि उपयुक्त समयमा उपयुक्त व्यक्ति वा संस्था चयन गरी स्थगित समारोह पुनः आयोजना गरी पुरस्कृत गर्ने छौं, ' प्रतिष्ठानका सदस्य सचिव प्रयागराज वाशिष्ठले भने।
वरिष्ठ समाजसेवी चन्द्रिकानन्द खरेल (पति), वरिष्ठ गायक दिपक खरेल (छोरा) लगायतद्वारा स्थापित प्रतिष्ठानले हरेक वर्ष मंसिर १६ गते यो समारोह आयोजना गर्दै आएको थियो।
प्रतिष्ठानले साहित्य साधिका तथा भक्तिमती भारती खरेलको जन्म जयन्तीको अवसरमा साहित्य, समाजसेवा, भक्तिलगायत विभिन्न क्षेत्रमा आवद्ध विशिष्ठ व्यक्ति एवं संस्थालाई पुरस्कृत गर्दै आएको थियो।
कोभिड-१९ को प्रभावका कारण भक्तिमती खरेलको ८३ औं जयन्ती समारोह गर्न असमर्थ रहेको प्रतिष्ठानले जनाएको छ।
गत वर्ष भक्तिमती खरेलको ८२ औं जयन्तीको अवसरमा साहित्यकार एवं समाजसेवी भद्रकुमारी घलेलाई सम्मान पत्रसहित ५१ हजार रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरिएको थियो।
२०४९ सालमा भारती खरेल प्रतिष्ठान स्थापना भएदेखि प्रदान गर्न सुरू गरिएको यस पुरस्कार स्वामी प्रपन्नाचार्य, दयारवीर सिंह कंसकार, भीमबहादुर अधिकारी लगायत व्यक्ति र स्वर्गद्वारी आश्रम, जाउलाखेल सत्संग परिवार, अद्वैत संस्था, महेश गुरुकुल सन्याश्रम लगायत संस्थाहरूलाई समेत प्रदान गरिएको छ।