फिल्म 'श्री बुकुरोः द होम कलिङ' को पहिलो गीत सार्वजनिक गरिएको छ।
शुक्रबार निर्माण कम्पनी फिल्म रेञ्जको अफिसियल युट्युब च्यानलबाट 'घर मेरो सानो बुकुरो' बोलको गीत रिलिज गरिएको हो।
यो मर्मस्पर्शी गीतमा दिग्गज संगीतकार रञ्जित गजमेरको संगीत, निर्देशक सुदीप भुपाल सिंहको शब्द रचना र शिव परियारको स्वर सुन्न सकिन्छ।
सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार आर्शिवाद क्षेत्री र लक्ष्मी गिरी सहरबाट गाउँ फर्किने क्रमको मोटरसाइकल यात्राको दृश्य देखाइएको छ।
गीतले घर, याद र भावनात्मक सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गर्छ। सानो घरमा पनि जीवनका ठूलो सम्झना र मायाका पलहरू गाढा रहेको कुरा गीतमा गरिएको छ।
गीतले दर्शकको मन छुने विश्वास रहेको निर्देशक सिंहले बताए। फिल्मको सार्वजनिक गीतले दर्शकलाई फरक स्वाद र विशुद्ध मनोरञ्जनात्मक पारिवारिक कथाको झल्को दिन्छ।
यो फिल्मबाट निर्देशक सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि उनले 'माला' र 'रुद्रप्रिया' निर्देशन गरेका थिए।
'श्री बुकुरोः द होम कलिङ' मा आशिर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज न्यौपाने, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, रोजिना विश्वकर्मालगायत कलाकारहरूको अभिनय छ।
निर्देशक सिंह स्वयंको लेखन रहेको फिल्म रूबी सेन सिंहले निर्माण गरेकी हुन्।
सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन छ।
'श्री बुकुरोः द होम कलिङ' आगामी फागुन १ गते महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आउने तयारीमा छ।