सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म 'सिन्दुरे जात्रा' का लागि कलाकार अनुबन्ध सुरू गरिएको छ।
सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले शुक्रबार मुख्य दुई कलाकार अनुबन्ध गरेको छ। अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली फिल्ममा अनुबन्ध भएका हुन्।
यो फिल्म निर्देशक सरोज पौडेल र यी दुई कलाकारबीचको दोस्रो सहकार्य हुनेछ। यसअघि उनीहरूले ब्लकबस्टर फिल्म 'पूर्णबहादुरको सारंगी' मा सँगै काम गरेका थिए। उक्त फिल्मले नेपाली बक्स अफिसमा ४८ करोड रूपैयाँ हाराहारी कमाएको थियो।
निर्देशक पौडेलले ‘पूर्णबहादुरको सारंगी’ मा एउटा सामान्य गन्धर्व परिवारको कथा, बुवा–छोराको सम्बन्ध र शैक्षिक संघर्षलाई निकै मार्मिक ढंगले प्रस्तुत गरे, जसलाई दर्शकले अत्याधिक रूचाए।
यो फिल्म विजय बरालको करिअरको 'टर्निङ पोइन्ट' बन्यो। उनले 'पूर्णबहादुर' को केन्द्रीय भूमिका निर्वाह गरेका थिए। अञ्जनाले यस फिल्ममा विजय बरालको श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन्।
निर्देशक पौडेलले 'सिन्दुरे जात्रा' का लागि कथाअनुसार कलाकार छनोट गरिएको बताउँदै अन्य कलाकारहरू क्रमशः अनुबन्ध गर्दै जाने जानकारी दिए।
'सिन्दुरे जात्रामा अब हामी चरित्र सुहाउँदो कलाकार अनुबन्ध गराउँदै जानेछौं', निर्देशक सरोजले भने, 'अबको केही समयमा हामी कलाकार फाइनल गरेर अरू काम सुरू गर्नेछौं।'
फिल्म राम्रो बनाउन कुनै पनि कसर बाँकी नराख्ने उनले बताए।
'विजय र अञ्जना अहिलेका रूचाइएका कलाकार हुन्। तर, हामीले बजारले रूचाएका कलाकार भनेर लिएका होइनौं', सरोज भन्छन्, 'कथाले नै उहाँहरूलाई मागेपछि अनुबन्ध गरेका हौं।'
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंको हो।
फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ। 'सिन्दुरे जात्रा' को रिलिज मिति भने सार्वजनिक गरिएको छैन।