हिजोभन्दा आज टड्कारो बन्दै गएको जलवायु परिवर्तनको असरमा सिनेमाको के नै सम्बन्ध होला जस्तो लाग्न सक्छ। तर कलकारखाना तथा उद्योग मात्र जलवायु परिवर्तनका लागि जिम्मेवार छैन। सिनेमा निमार्ण गर्ने प्रक्रियाले वातावरणमा नकारात्मक असर पार्ने तथ्यले देखाएको छ।
युरोपियन युनियन नेपालको डेलिगेसनले यसै सन्दर्भमा 'ग्रीन फिल्म मेकिङ' बारे भर्चुअल मास्टरक्लास आयोजना गर्न लागेको छ। यो मास्टरक्लास नेपाल युरोपियन युनियन चलचित्र महोत्सव (नियुफ) २०२१ अन्तर्गतको कार्यक्रमका रुपमा आयोजना गरिन लागेको हो।
मास्टरक्लास भोलि असोज ८ गते दिउँसो २ बजे आयोजना गरिने छ।
श्रव्य-दृश्य निर्माण गर्दा वातावरणमा पर्ने नकारात्मक असरहरूलाई कम गर्ने उद्देश्यले निर्माता तथा सिनेमा उद्योगसँग सम्बन्धित अन्य सार्वजनिक तथा निजी निकायले तयार गरेका नीति तथा व्यवस्थालाई हरित चलचित्र निर्माण वा दिगो चलचित्र निर्माण भनेर बुझिन्छ। अन्य औद्योगिक क्षेत्रहरूले जस्तै श्रव्य-दृश्य अथवा चलचित्र उद्योगले पनि वातवारणलाई जोगाउनका लागि आफ्नो भूमिका खेल्न सक्छ।
यस मास्टरक्लासमा हरित चलचित्र मूल्यांकन प्रणालीका निर्देशिका बमोजिम चलचित्र निर्माण स्थललाई कसरी बढी दिगो बनाउन सक्छन् भन्ने बारेमा निर्माता तथा निर्माणमा संलग्नहरूले व्यवहारिक रूपमा के काम गर्न सक्छन् भन्ने बारे सहभागीले जान्ने मौका पाउनेछन्।
उनीहरूले श्रव्य-दृश्यका कामहरूलाई वातावरणीय दिगोपनको हरित चलचित्र प्रमाणीकरण प्राप्त गर्ने प्रक्रियाहरूको बारेमा, त्यसमा संलग्नहरूको बारेमा पनि जान्नेछन्। त्यसका साथै विभिन्न देशहरूमा चलचित्र सह–निर्माण गर्नका लागि ग्रीन फिल्ममेकिङको प्रमाणिकरण लिए नेपाली फिल्मकर्मी तथा निर्माण कम्पनीहरुलाई के फाइदा हुन सक्छ भन्ने विषयमा पनि चर्चा गरिने छ।
मास्टरक्लासको प्रशिक्षक अल्बर्टो बाट्टोची रहेका छन् भने भ्यालरियो कारुसोले सहकीकरण गर्ने छन्। मास्टरक्लासमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अतिथि वक्ताका रुपमा आफ्नो मन्तव्य राख्ने छन्।
यस मास्टरक्लासमा सहभागी हुनका लागि सबै निर्देशक, निर्माता, छायाकार, निर्माण नियन्त्रक लगायत सबै चलचित्रकर्मी, चलचित्रका विद्यार्थी, सिनेपत्रकार⁄ लेखक सबैमा युरोपियन युनियनको नेपालको डेलिगेसन आव्हान गरेको छ।
मास्टरक्लासमा सहभागी हुनका लागि लिंकः
https://zoom.us/j/98023373073?pwd=TW9nWVFYeXhmZTlSamQxVzRncVBIUT09
Meeting ID: 980 2337 3073
Passcode: 22222