यही वैशाख २६ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'जार' को सिक्किममा ग्राण्ड वर्ल्ड प्रिमियर सम्पन्न भएको छ।
सिक्किम गान्तोकस्थित वाज्रा वर्ल्डमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली फिल्म उद्योगमा प्रतिनिधित्व गर्ने फिल्मकर्मीहरूको उपस्थिति थियो।
फिल्मको प्रिमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाहीसहितको टिम नेपालबाट सिक्किम पुगेको थियो। ७ सय सिट क्षमताको वाज्रा हल अतिथि दर्शकबाट भरिएको थियो। पारिवारिक कारणबस अभिनेत्री गीताञ्जली थापा भने आफ्नो फिल्मको पहिलो प्रिमियरमा सहभागी हुन सकिनन्।
फिल्म हेरिसकेपछि दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन्। वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्मले कृतिलाई पूर्णतः न्याय गरेको निर्देशक साम्तेन भुटियाले बताए। नेपाली मौलिकता पस्केको 'जार' अभिनय, निर्देशक र प्राविधिक सबै पक्षमा अब्बल बनेको उनको भनाइ छ।
दिग्गज अभिनेता उत्तम प्रधानले फिल्म उत्कृष्ट बनेको भन्दै सम्पूर्ण टिमलाई बधाई दिए। कलाकारको अभिनय र निर्देशकीय पक्षलाई तारिफ गर्न समय खर्चेका प्रधानले नेपाली दर्शकले आफ्नो समाजको विगत थाहा पाउन 'जार' एक पटक हेर्नै पर्ने फिल्म रहेको बताए।
मुख्यतः निर्देशक फुर्वा लामा, अभिनेत्री गीताञ्जली, अभिनेता द्वय सौगात र अनुपविक्रम दर्शकको प्रशंसाको केन्द्रमा परे।
अभिनेताद्वय सौगात र अनुपविक्रमले सिक्किमेली दर्शकसँगै बसेर फिल्म हेर्दा राम्रो प्रतिक्रिया पाएको भन्दै फिल्म पारखीलाई 'जार' ले तृप्त बनाउने बताए।
सिक्किम लोकसभा डेपुटी स्पिकर राजकुमारी थापा प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथिको रूपमा सिक्किम प्रहरी प्रमुख अक्षय सच्देवा, लोकसथा सदस्य इन्द्रहाङ सुब्बा, मुखमन्त्रीका राजनीतिक सल्लाहकार ज्याकव खालिम, सिक्किम सरकारका प्रवक्ता कर्मा सुब्बा, मुख्यमन्त्री कार्यालय सचिव एसडी ढकाल लगायतका विशिष्ट राजनीतिक व्यक्तित्वहरूसहित नेपाली फिल्म निर्माता सुस्मा गुरुङ, निर्देशक साम्तेन भुटिया, प्रशान्त रसाइली अभिनेता उत्तम प्रधानलगायत उपस्थित थिए।
सिक्किमपछि मे ३ तारिखमा सिलिगुडी (सिलिगुरी) मा यो फिल्मको दोस्रो प्रिमियर तय गरिएको छ। बिहीबार दार्जिलिङ पुगेर प्रचारात्मक कार्यक्रम सम्पन्न गरेपछि 'जार' टिम सिलिगुरी पुग्नेछ।
सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ। फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा यो फिल्म निर्माण भएको हो।