अभिनेता सौगात मल्लले दुई दशकअघि साहित्यकार इन्द्र बहादुर राईको कथा 'जार' पढ्दै गर्दा यसमा काम गर्न मन लागेको बताएका छन्।
अहिले दुई दशकपछि आफ्नो सपना पूरा भएको सौगातको भनाइ छ। प्रदर्शनको तयारीमा रहेको फिल्म 'जार' को सन्दर्भमा उनले यसो भनेका हुन्।
उनले भने, 'जब यो कथा मैले पढेँ, त्यही बेला नै म यसमा नाटक बनाउँछु भन्ने थियो। त्यसबेला फिल्मबारे त सोच्ने भइसकेको थिइनँ। दुई दशकपछि त्यही फिल्मका लागि अफर आउँदा सरप्राइज भयो।'
मुख्य मात्रै होइन जुनसुकै भूमिकाका लागि प्रस्ताव आएको भए पनि 'जार' मा आफू खेल्न तयार रहेको बताए। यद्यपि, मुख्य भूमिकामा लागि नै प्रस्ताव आएपछि झन धेरै खुसी भएको उनले बताए। कथा पढेपछि तीन महिनासम्म 'जार' कै पात्रमा बसेको समेत उनले सुनाए।
सौगातले भने, 'मैले जब यो कथा पढें। मलाई यसरी तान्यो, त्यसभित्रै डुबेछु। तीन महिनासम्म त जारबारे कसैले कुरा गरे मैले त यो खेलिसकेँ त जस्तो लाग्थ्यो। आफूलाई काम गर्न मन लागेको कथामा नाटक वा फिल्म बनाउ वा काम गरौँ भन्ने रहर भयो भने सोच्दा सोच्दै यो त मैले गरिसकेँ त जस्तो हुनेरहेछ।'
कालान्तरमा त्यसैबाट अफर आउनु सुखद् संयोग र भाग्यमानी दुबै भएको सौगात बताउँछन्। आफूले सपना देखेको फिल्ममा काम पनि एकदमै राम्रोसँग गरेको उनले बताए।
इन्द्रबहादुर राईको अर्को कथामा पनि काम गर्न मन लागेको उनले बताए।
'कुन भनेर चाहिँ भन्दिनँ किन भने नभएससम्म हुँदैन, त्यसैले नभन्नु भन्छन्। त्यसैले अहिले यो भनेर भन्दिनँ। तर कुनै बेला काम भयो भने भन्नेछु,' उनले भने।
'जार' वैशाख २६ गते अर्थात यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित रहेर २२५ वर्ष अगाडिको कथामा बनेको 'जार' फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्। फिल्ममा सौगातसहित अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापालगायत कलाकारहरूको मुख्य भूमिका छ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको 'जार; सामाजिक विषयमा बने पनि पूरा प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ।
त्यसैले दर्शकको मन जित्नेमा उनी ढुक्क छन्।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको हो। फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ। फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत छ।
'जार' नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ।