जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म 'नरसिंहा: अवतार' को दोस्रो गीत सार्वजनिक गरिएको छ।
शुक्रबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश 'मेरी प्यारी छोरी' बोलको गीत सार्वजनिक गरिएको हो। स्वरूपराज आचार्यको स्वर, मुक्त उदासको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ। सार्वजनिक गीतले बाबु र छोरीबीचको प्रेम प्रस्तुत गरेको छ।
सार्वजनिक गीतको भिडिओमा अभिनेता राजेश हमाल, अभिनेत्री नीति शाह र बाल-कलाकार एल्भिना खड्कालाई फिचरिङ गरिएको छ। गीतमा एल्भिनाप्रति राजेशको प्रेम, नीति शाहसँगको प्रेमभावलाई प्रस्तुत गरिएको छ।
दिवाकर भट्टराई लिखित तथा निर्देशित फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिशा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, दीपा शाहीलगायत कलाकारको अभिनय छ। फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकाल र ध्रुव न्यौपानेको लगानी छ।
फिल्म 'नरसिंहा: अवतार' को यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ। चन्द्र पन्तको कथा रहेको यो फिल्ममा राजु तामाङको एक्सन, राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ।