वर्ष २०८२ को वैशाख र जेठमा १० वटा नेपाली फिल्म प्रदर्शनमा आए। तर १ वटा बाहेक अरू फिल्मले अपेक्षित व्यापार गर्न सकेनन्।
यो अवधिमा वैशाख २६ मा रिलिज 'ऊनको स्वीटर' मात्रै सुपरहिट बन्यो।
नवीन चौहानको निर्देशनमा बनेको यो फिल्मले १० करोडमाथि ग्रस कलेक्सन गरिसकेको छ। अझै थुप्रै हलमा यो फिल्म प्रदर्शनरत छ। यस बाहेकका कुनै फिल्मले राम्रो व्यापार गर्न नसकेका हुन्।
वैशाखमा रिलिज ५ फिल्मध्ये 'ऊनको स्वीटर' सुपरहिट हुँदा 'भूठान', 'खेल', 'झिल्को' र 'जार' ले दर्शकलाई हलसम्म तान्न सकेनन्।
जेठमा पनि ५ वटा फिल्म रिलिज भएका छन। 'के घर के डेराः घर नम्बर २', 'हेल्लो काशीराम', 'नरसिंहाः अवतार', 'जन्तेबाख्रो' र 'महाभोज' जेठमा रिलिज भएका हुन्।
यीमध्ये 'नरसिंहाः अवतार' को टिमले फिल्मले सुखद् व्यापार गरेको बताए पनि बक्स अफिसमा यसको ग्रस कलेक्सन १ करोड ७५ लाख रूपैयाँ छ।
राजेश हमालको कमब्याक फिल्म र रिलिजअघि यसले पाएको चर्चाका हिसाबले यो कमाइलाई सुखद् मान्न नसकिने फिल्मकर्मी बताउँछन्।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको 'महाभोज' ले पनि अपेक्षित व्यापार गर्न सकिरहेको छैन।