फिल्म 'रियाल रिंगेट' को ओएसटी गीत 'जिन्दगीः उडी जाने हो कहाँ' सार्वजनिक गरिएको छ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच परदेशी नेपालीको वेदना समेटिएको यो गीत सार्वजनिक गरिएको हो।
रेबेल फिल्मसद्वारा निर्मित फिल्मको यो गीतले वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीहरूको मार्मीक कथा समेटेको छ।
केतन क्षेत्रीको स्वर रहेको यो गीत रवि मल्ल र कोशिस क्षेत्रीको संयुक्त रचना हो। चन्दनध्वज केसी र किरण तुलाधरले संगीत दिएका छन् भने किरण तुलाधरले एरेन्ज गरेका छन्। गीतले विदेशमा नेपालीले भोग्ने संघर्ष, उनीहरूको घरपरिवारको विचलित अवस्था र बाध्यताले विदेसिनुपर्दाको पीडालाई प्रस्तुत गरेको छ।
गीत रिलिज गर्न आयोजित कार्यक्रममा कवि नाथन रायनले आफ्नो कविता वाचन गरे, जहाँ मामुली मजदुरका रूपमा विदेशिन बाध्य नेपालीहरूको मार्मीक भावना पोखिएको छ। कवि रायनका शब्दहरूले ‘जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो’ भन्ने ट्यागलाइनमार्फत फिल्मको समग्र मर्मलाई सशक्त रूपमा चित्रण गर्दछ। गायक केतन क्षेत्रीले प्रत्यक्ष गीत गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए।
निर्देशक विभोर पोखरेलले 'रियाल रिंगेट' हरेक नेपालीको कथा भएको जिकिर गर्दै फिल्मले आम दर्शकको मन छुन सफल हुने विश्वास व्यक्त गरे।
निर्माता गगनलाल प्रधानले वैदेशिक रोजगारीको विषय उठाउनैपर्ने भएकोले यसमा लगानी गरेको बताए। दुई दशकभन्दा बढी समयदेखि रेबेल क्रियशन सञ्चालन गर्दै आएका प्रधानले यसअघि २०३९ सालमा भिडिओ फिल्म 'अभिलाषा' निर्माण गरेका थिए। साथै, रेबेल क्रियशनमार्फत् प्रधानले दर्जनौं गायक गायिका, निर्देशक तथा कलाकारहरूलाई स्थापित गरेका छन्।
अभिनेत्री नीता ढुंगानाले लामो समयको मेहनतपछि फिल्म रिलिजको संघारमा पुगेकोमा खुसी व्यक्त गरिन् भने अभिनेता प्रमोद चौलागाईंले निकै सोच विचार गरेर मात्र यस फिल्म अभिनय गरेको बताए।
यो फिल्ममा प्रमोद चौलागाईं, नीता ढुंगाना, छुल्ठिम डोल्मा गुरूङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरीलगायत कलाकारहरूको अभिनय छ। प्रदीप भारद्वाजले फिल्मको लेखन गरेका हुन्।
फिल्मको नाम 'रियाल रिंगेट' कतार र साउदी अरेबियाको मुद्रा 'रियाल' तथा मलेसियाको मुद्रा 'रिंगेट' को मिश्रणबाट बनेको छ, जसले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकहरूलाई संकेत गर्छ।
रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी फिल्ममा छ।
गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत तथा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिनेछ। गीतका शब्दहरू अमर न्यौपाने, रवि मल्ल, कोशिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन्।
फिल्म साउन १६ गतेदेखि प्रदर्शनमा आउनेछ। काफिया फिल्म्सले यसलाई देशभरका हलमा वितरण गर्नेछ।