फिल्म 'अभिमन्युः च्याप्टर १' को प्रदर्शन मिति फेरि सरेको छ।
देशको प्राकृतिक विपद्को पछिल्लो अवस्थालाई ध्यानमा राखेर निर्माण टिमले यो साता फिल्म प्रदर्शनमा नल्याउने घोषणा गर्दै नयाँ प्रदर्शन मिति तोकेको हो।
यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो फिल्म अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको निर्माता विनोद पौडेलले जानकारी दिए।
दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा फिल्म प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको पौडेलको भनाइ छ। उनले प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षा समेत गरेका छन्।
'अभिमन्युः च्याप्टर १' सुरुमा भदौ २७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा थियो। जेनजी आन्दोलनका कारण उक्त प्रदर्शन मिति स्थगित गरेर असोज १३ लाई नयाँ मिति तोकिएको थियो। असोज १३ मा पनि अन्य धेरै फिल्महरू प्रदर्शनमा आउने भएकाले फेरि असोज २४ गतेका लागि प्रदर्शन मिति तोकिएको थियो।
अब कात्तिक २१ गते रिलिज हुने भएको फिल्म नेपाली र हिन्दी दुवै भाषामा एकसाथ नेपालभरका सिनेमा घरहरूमा प्रदर्शन गरिने निर्माणपक्षले जनाएको छ। यसका साथै, भारत र विश्वका विभिन्न देशहरूमा समेत कार्तिक २१ गतेदेखि नै यसको विश्वव्यापी प्रदर्शन हुने निर्माण पक्षले बताएको छ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको 'अभिमन्यु: च्याप्टर १' मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल लगायतका कलाकारहरू मुख्य भूमिकामा छन्। फिल्मको निर्देशन सुशान्त गौतमले गरेका हुन्।