सिनेमा हलमा व्यावसायिक सफलता हासिल गरेको तीन वर्षपछि फिल्म 'छक्का पञ्जा ४' युट्युबमा सार्वजनिक हुने भएको छ।
भाइटीकाको अवसर पारेर कात्तिक २५ गते फिल्म युट्युबमार्फत सार्वजनिक हुन लागेको हो। निर्माता तथा अभिनेता दीपकराज गिरीका अनुसार दिउँसो ३ बजे फिल्म युट्युबमा स्ट्रिमिङ हुनेछ।
२०७९ सालको फागुनमा प्रदर्शनमा आएको यो फिल्म समसामयिक नेपाली राजनीति र त्यसमा देखिएका विकृति तथा विसंगतिमाथि व्यंग्य गर्दै निर्माण गरिएको हो। आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा निर्मित फिल्मको निर्देशक हेमराज बीसी हुन्। फिल्मको कथा तथा पटकथा दीपकराज गिरीको हो।
फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, बुद्धि तामाङ, मलिना जोशी, नीर शाह, राज आचार्य, सुष्मा निरौला, वेदना राई, लुनिभा तुलाधर, अनुराग कुँवरलगायत कलाकारको अभिनय छ। फिल्मले घरेलु बक्स अफिसमा १७ करोड रूपैयाँभन्दा माथिको ग्रस व्यापार गरेको थियो।
'छक्का पञ्जा ४' पछि यस शृंखलाको पाँचौं भाग 'छक्का पञ्जा ५' समेत दुई वर्षअघि प्रदर्शनमा आइसकेको छ।
यसै समूहको अर्को फिल्म 'छ माया छपक्कै २' यस वर्ष दसैंमा रिलिज भएको थियो। यो फिल्म अहिले पनि सिनेमाहलमा प्रदर्शनरत छ।