अनमोल केसी अभिनीत फिल्म 'बाटुलो जून'ले मल्टिप्लेक्समा राम्रो शो पाएको छ।
यही बिहीबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मको सोमबारदेखि अग्रिम टिकट बिक्री खुला गरिएको हो। भाइटीकाको भोलिपल्टदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको मल्टिप्लेक्सहरूले शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएका हुन्।
देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले बिहीबारका लागि फिल्मलाई देशभर आफ्ना हलमा कुल ५७ शो उपलब्ध गराएको छ। सोमबार बेलुकासम्मको विवरणअनुसार क्युएफएक्सले काठमाडौं उपत्यकाभित्र २७ र उपत्यकाबाहिर ३० शो दिएको हो।
त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले फिल्मलाई १९ शो दिएको छ। अन्य केही मल्टिप्लेक्सले पनि अग्रिम बुकिङ खुलाइसकेका छन् भने केही हलमा टिकट बिक्री खुल्न बाँकी छ।
यी शो संख्या प्रारम्भिक हुन्। बुकिङको अवस्था हेरेर हलहरूले शो थपघट गर्न सक्नेछन्। त्यसैले प्रदर्शनको दिनसम्म फिल्मको शो संख्या परिवर्तन हुन सक्नेछ।
'बाटुलो जून' अनमोलको करिब एक वर्षपछि प्रदर्शनमा आउन लागेको नयाँ फिल्म हो। फिल्मको टिजर, ट्रेलर र गीतले दर्शकमाझ राम्रो हाइप बनाएको देखिन्छ। अनमोल यसपटक पहिलोपटक ग्रामीण परिवेशको कथा र गाउँले चरित्रमा प्रस्तुत भएका छन्। यही फरक अवतारका कारण पनि फिल्मलाई चासोका साथ हेरिएको छ।
भुवन केसी निर्देशित 'बाटुलो जून' मा अनमोलसँगै नव-अभिनेत्री प्रिन्सी खतिवडा मुख्य भूमिकामा छन्। साथमा भुवन केसी, गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरीलगायत कलाकारहरूको पनि शीर्ष अभिनय छ। बेल्जियममा बस्दै आएकी अभिनेत्री गरिमा पन्तको यो कमब्याक फिल्म हो।
फिल्मको कथा वि.स. २०४० को दशकको नेपाली सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित रहेको निर्माणपक्षले जनाएको छ।
पुरानो समयको सामाजिक परिवेशमा आधारित फिल्मले तत्कालीन समयको प्रेम, सामाजिक अवस्था र जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास गरेको जनाइएको छ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा जिया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सह–निर्माता छन्। फिल्ममा राजेश श्रेष्ठको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ।