यार्सागुम्बा टिप्न जाने स्थानीयमाथि हुने लुटपाट, संघर्ष र बदलाको कथामा बनेको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ गतेदेखि प्रदर्शनमा आउँदैछ।
निर्देशक धिरज राजवंशीको डेब्यू निर्देशकीय फिल्ममा परीक्षा लिम्बु, सुनिल थापा, कर्मा शाक्य, सजन थापा मगरलगायत कलाकारको अभिनय छ।
अमेरिकाको लसएन्जल्समा फिल्म निर्देशन तथा निर्माणको अध्ययन सकेर नेपाल फर्किएका धिरजलाई यो फिल्म बनाउने सोच भने रूकुम पुगेपछि आएको हो। उनले फिल्म 'खुस्मा'मा चिफ असिस्टेन्ट डाइरेक्टरका रूपमा काम गरेका थिए। यही फिल्मको सुटिङका क्रममा रूकुम पुगेका उनले स्थानीयसँगको कुराकानीमा यार्सागुम्बासँग जोडिएका संघर्ष र लुटपाटका घटनाबारे थाहा पाएका थिए।
'सुटिङ सकेपछि घोडा चढेर स्थानीयसँग यार्सागुम्बा पाउने ठाउँमा पुगें। त्यो बेला यार्सागुम्बा टिप्ने सिजन पनि रहेछ। त्यहाँ पुगेपछि कसरी लुटपाट हुन्थ्यो भन्ने थाहा पाएँ। त्यसपछि यसमा कथा छ भन्ने लाग्यो,' धिरजले सुनाए।
उनका अनुसार फिल्मले सन् १९९० ताकाको समयलाई समेटेको छ। त्यतिबेला यार्सागुम्बा टिप्न जाने स्थानीय सरकारी सुरक्षाको अभावमा लुटपाटमा पर्ने गरेका थिए। रूकुम, डोल्पा, रोल्पा र मनाङका समुदायको यार्सागुम्बासँगको सम्बन्धलाई पनि फिल्ममा देखाइएको उनले बताए।
फिल्मको कथा तयार पार्न एक वर्षभन्दा बढी समय लगाएका धिरज सुटिङअघि चारपटक मुस्ताङ पुगेका थिए। सुरूमा डोल्पामा सुटिङ गर्ने योजना भए पनि भौगोलिक कठिनाइ र उत्पादन खर्चका कारण मुस्ताङमा लोकेसन तय गरिएको थियो। फिल्मको सुटिङ ४ हजार ८ सय मिटरभन्दा माथिको उचाइमा गरिएको छ।
'लोमान्थाङमा व्यावसायिक रूपमा सुटिङ गरेको फिल्म सम्भवतः हाम्रो नै पहिलो हो। लोमान्थाङमाथि पनि सुटिङ गरेर आएका छौं,' धिरजले भने। हिमाली क्षेत्रमा सुटिङ गर्दा चिसो मुख्य चुनौती बनेको पनि उनले सुनाए।
फिल्ममा परीक्षा लिम्बु मुख्य भूमिकामा छिन्। ‘ऊनको स्वीटर’मा उनको अभिनय देखेपछि प्रभावित भएका धिरजले निर्माण सुरू हुनुभन्दा ६ महिनाअघि नै उनलाई स्क्रिप्ट दिएका थिए। फिल्ममा कर्मा शाक्य, सजन थापा मगर र सुनिल थापा लुटेरा समूहका सदस्यका रूपमा देखिनेछन्।
'यो अन्डरडग कथा हो। चारजना लुटेराले यार्सागुम्बा लुट्दै आउँदा परीक्षाको परिवार पनि यो जालमा फस्छ। त्यसपछि परीक्षाको पात्रले कसरी रिभेन्ज लिन्छ भन्ने कुरा फिल्ममा छ,' धिरजले भने।
अ ह्वाइट एलिफेन्ट मोसन पिक्चरको ब्यानरमा बनेको फिल्मका निर्माता मीनबहादुर भाम हुन्। फिल्ममा मेनुका प्रधान, राहुल एन. मुखिया, अंकित खड्कालगायत कलाकारको पनि अभिनय छ। दिग्गज अभिनेता सुनिल थापाले अभिनय गरेको यो अन्तिम फिल्मसमेत हो।
फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्ट र भारतमा प्रतिष्ठित वितरण कम्पनी ए ए फिल्म्सले वितरण गर्नेछन्।