यस वर्ष दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्म 'आबाट आमा २', 'छ माया छपक्कै २' र '१२ गाउँ २' को बक्स अफिस व्यापार सुस्त देखिएको छ। पछिल्लो एक सातामा यी तीनवटै फिल्मले संयुक्त रूपमा ६५ लाख रूपैयाँभन्दा बढी मात्रै ग्रस कमाइ थपेका छन्।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको कात्तिक २२ गते आइतबारसम्मको बक्स अफिस रिपोर्टअनुसार तीनवटै फिल्मले हालसम्म कुल १२ करोड ५४ लाख ७४ हजार २९ रूपैयाँ ग्रस कलेक्सन गरेका छन्। विवरणअनुसार यी फिल्मका कुल ४ लाख १९ हजार ४९१ वटा टिकट बिक्री भएका छन्।
अघिल्लो साताको रिपोर्टमा तीनवटै फिल्मको संयुक्त कमाइ ११ करोड ८९ लाख १२ हजार रूपैयाँभन्दा बढी थियो। यस हिसाबले पछिल्लो सात दिनमा तीन फिल्मले संयुक्त रूपमा ६५ लाख ६२ हजार रूपैयाँभन्दा बढी कमाइ थपेका हुन्।
तीन फिल्ममध्ये सबभन्दा धेरै 'आबाट आमा २' ले कमाइ थपेको छ। फिल्मले पछिल्लो सात दिनमा ५६ लाख ३७ हजार रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ। फिल्मको कुल कमाइ ६ करोड ८१ लाख ७ हजार ४१३ रूपैयाँ पुगेको छ। यसका २ लाख ३७ हजार ३०७ वटा टिकट बिक्री भएका छन्।
दोस्रो स्थानमा रहेको 'छ माया छपक्कै २' ले पछिल्लो सात दिनमा ७ लाख ४१ हजार रूपैयाँभन्दा बढी कमाएको छ। फिल्मको कुल ग्रस कलेक्सन ३ करोड ४२ लाख २५ हजार ९४५ रूपैयाँ पुगेको छ। यसका १ लाख ६ हजार ६४४ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, '१२ गाउँ २' ले पछिल्लो सात दिनमा १ लाख ८२ हजार रूपैयाँभन्दा बढी मात्रै कमाइ थपेको छ। फिल्मको कुल कमाइ २ करोड ३१ लाख ४० हजार ६७१ रूपैयाँ पुगेको छ। यसका ७५ हजार ५४० वटा टिकट बिक्री भएका छन्।
यसरी हेर्दा पछिल्लो सात दिनमा तीनवटा फिल्ममध्ये 'आबाट आमा २' ले बढी कमाइ थपेको छ। 'छ माया छपक्कै २' र '१२ गाउँ २' को व्यापार भने निकै सुस्त देखिएको छ।
चन्द्र पन्त निर्देशित 'आबाट आमा २' मा पल शाह, विपना थापा, मलिका महत र आकाश श्रेष्ठलगायत कलाकार छन्। यसको अघिल्लो भाग ‘आबाट आमा’ ले १३ करोड २० लाख रूपैयाँ ग्रस कमाइ गरेको थियो।
दीपेन्द्र लामा निर्देशित 'छ माया छपक्कै २' मा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य र रिहान गिरीलगायत कलाकार छन्। यसको अघिल्लो भाग 'छ माया छपक्कै' ले ९ करोड ९२ लाख रूपैयाँ ग्रस कमाएको थियो।
यस्तै विराज भट्ट निर्देशित '१२ गाउँ २' मा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, कृशु शाही, वर्षा इटानी, सुनिल पोखरेललगायत कलाकार छन्। यसको अघिल्लो भाग '१२ गाउँ' ले १९ करोड ९२ लाख रूपैयाँ ग्रस कमाइ गरेको थियो।