फिल्म 'अभिमन्युः च्याप्टर १' मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगित हुँदै आएको यस फिल्मलाई दर्शकहरूले अन्ततः मंसिर १८ गतेबाट हेर्न पाउने भएका हुन्।
यसैक्रममा निर्माणपक्षले फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा फिल्मका अधिकांश कलाकारहरूलाई 'क्यारेक्टर लुक्स' मा देखाइएको छ। कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरूङ, प्रकाश दाहाल लगायतका कलाकारहरू पोस्टरमा अटाएका छन्।
पोस्टरमा कामेश्वर चौरसिया साइकलमा देखिएका छन् भने अन्य कलाकारहरू पनि आ–आफ्नै चरित्रको हुलियामा प्रस्तुत भएका छन्। यस पोस्टरले फिल्ममा कुन कलाकारको कस्तो लुक्स रहनेछ भन्ने स्पष्ट पारेको छ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शनमा ल्याइने जनाइएको छ।
निर्माणपक्षले फिल्म प्राविधिक र कथानक दुवैमा बलियो रहेको दाबी गर्दै आएको छ। तराईको परिवेशमा आधारित यो फिल्मले तराईको कथावस्तुलाई उजागर गर्ने संकेत गरेको छ। कलाकार कामेश्वर र लक्ष्मीको हुलियाले पनि त्यो कुरा प्रष्ट पार्छ।
सुशान्त गौतमले निर्देशन गरेको 'अभिमन्यु: च्याप्टर १' का क्रिएटिभ निर्देशक मदन थापा हुन्। फिल्ममा लेखन मुकेश खनालको छ।
‘अभिमन्यु: च्याप्टर १' का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेको यस फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। यस सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन्।
शरद महतोको डिओपी रहेको फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन छ।