अभिनेत्री तथा निर्मात्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म 'द ब्ल्यू लाइट' को नयाँ पोस्टर सार्वजनिक भएको छ।
पोस्टरमा फिल्मका मुख्य तीन कलाकार अटाएका छन्। अभिनेत्री बेनिशालाई पोस्टरको केन्द्रमा राखिएको छ।
सार्वजनिक पोस्टरमा बेनिशालाई तीन फरक-फरक भाव र परिवेशमा देखाइएको छ। पोस्टरको सबभन्दा ठूलो आकृतिमा उनी हँसिलो मुद्रामा देखिएकी छन्। यसले जीवनप्रतिको आशा र उमंगलाई झल्काउँछ।
अर्को दृश्यमा भने उनको चरित्र विपरित देखिन्छ। हातमा चुरोट लिएर रेलिङमा अडेस लागेकी बेनिशा तनावग्रस्त मुद्रामा छिन्। उनको हातका पाँचवटै औंलामा औंठी छन् भने एउटै औंलामा दुईवटासम्म औंठी देख्न सकिन्छ।
तेस्रो दृश्यमा उनी अभिनेता महेश त्रिपाठीसँग टेबुलमा आमनेसामने छिन्। उनीहरूबीच गम्भीर संवाद भइरहेको अनुमान गर्न सकिन्छ।
पोस्टरमा बाल कलाकार ग्रिष्मा कटुवाललाई पनि स्थान दिइएको छ। उनी आँखाभरि आँसु लिएर रोइरहेकी छन्। पोस्टरमा प्रयोग गरिएको निलो प्रकाशले फिल्मको नामलाई सार्थकता दिँदै जीवनका आरोह-अवरोह तथा आशा र निराशाबीचको कथा भन्ने संकेत गर्छ।
बलिराम चौहान डेब्यु निर्देशित ‘द ब्ल्यू लाइट' पुस १० गतेदेखि प्रदर्शनमा आउँदैछ। साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको यो फिल्मलाई स्काइफल पिक्चर्सले प्रस्तुत गरेको हो।
फिल्ममा बेनिशा हमालसहित अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीको मुख्य भूमिका छ। त्यस्तै, बाल कलाकारका रूपमा ग्रिष्मा कटुवाल र सहारा शर्मा छन्।
फिल्ममा बेनिशा स्वयं र नरेन्द्र मैनाली कार्यकारी निर्माता छन्। रमन ग्रे सह-निर्माता हुन्।