नेपालका सिनेमा हलहरूमा प्रदर्शनरत फिल्म 'अभिमन्युः च्याप्टर १' डिसेम्बर ११ (बिहीबार) देखि अस्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शनमा आउने भएको छ।
निर्माता विनोद पौडेलका अनुसार फिल्मले अस्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शनको पहिलो साता ५०० भन्दा बढी शोहरू पाएको छ। उनले फेसबुक पोस्टमार्फत यसबारे जानकारी दिएका छन्। उनले यसलाई नेपाली फिल्मको ऐतिहासिक क्षणको रूपमा समेत व्याख्या गरेका छन्।
कामेश्वर चौरासिया र लक्ष्मी बर्देवा अभिनीत फिल्म अस्ट्रेलिया र न्युजिल्याण्डका प्रतिष्ठित सिनेमा चेनहरूमा प्रदर्शनमा आउने उनले बताएका छन्। अस्ट्रेलियामा फिल्मको वितरण 'नमस्ते इन्टरटेनमेन्ट' (देव कार्की) ले लिएका हुन्। निर्माता पौडेलका अनुसार अस्ट्रेलियामा 'अभिमन्यु: च्याप्टर १' नेपाली र हिन्दी गरी दुई भाषामा प्रदर्शन हुनेछ।
सुशान्त गौतम निर्देशित यो फिल्मलाई 'सोसल थ्रिलर' जनरामा राखिएको छ। नेपालमा प्रदर्शन भइरहँदा फिल्मले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।