प्रेम कथानक फिल्म 'कुमारी' को दोस्रो गीत 'तिमी बिना' सार्वजनिक गरिएको छ।
'कता छौ मेरो फूल' बोलको गीतले स्रोता तथा दर्शकबाट माया पाएपछि 'तिमी बिना' सार्वजनिक गरिएको हो।
बिहीबार केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक गीतमा केहर सिं लिम्बुको स्वर छ। यसको भिडिओमा फिल्मका शीर्ष कलाकारहरू आकृति राजभण्डारी र अभिषेक खड्का प्रस्तुत छन्।
गीतको गायन शैली, शब्द तथा दृश्यात्मक प्रस्तुतीकरणमार्फत प्रेमिल भावनालाई सुन्दर ढंगले उतारिएको छ। आकृति अभिषेकबीचको आत्मीयता, आपसी नजिकपन र उत्साहपूर्ण मुड भिडिओमा देखिन्छ।
यो गीतको शब्द सुमन तामाङको हो भने संगीत सुमन र केहरको छ। अडिओ प्रोडक्सन तथा मिक्सिङ मास्टरिङ एस्थर रिजनले गरेका हुन्।
दिनेश राउत निर्देशित 'कुमारी' भ्यालेन्टाइन डेको आसपास रिलिज हुने तयारी छ। फिल्ममा आकृति र अभिषेकसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारहरूको अभिनय छ। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको फिल्ममा विकास सुवेदीको लेखन छ।
केदार भुसाल कार्यकारी निर्माता रहेको फिल्मको निर्माता महेन्द्र अधिकारी हुन्। फिल्ममा सुशन प्रजापतिको डिओपी, सुप्रिम पराजुलीको सम्पादन छ।
'कुमारी' माघ २३ गते रिलिज हुने तालिका छ।