फिल्म 'किन लाग्छ माया' को पहिलो गीत 'धौले धन्सार' युट्युबमा सार्वजनिक गरिएको छ। पोष्टरपछि यसको निर्माणपक्षले लोक शैलीमा तयार यो गीत सार्वजनिक गरेको हो।
यो गीतमा पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’ को स्वर छ। डाक्टर अशाबहादुर तामाङको शब्द रहेको यो गीतमा पुष्कर सुनुवारको संगीत छ।
भिडिओमा फिल्मका मुख्य कलाकारहरू सञ्जित भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, मिस पबी, हिउँवाला गौतमको साथमा नव–अभिनेता स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीलगायतको नृत्य हेर्न सकिन्छ। रामजी लामिछानेले भिडिओको कोरियोग्राफी गरेका हुन्।
कुबेर तामाङको निर्देशनमा तयार भएको फिल्म 'किन लाग्छ माया' को प्रदर्शन मिति सन् २०२६ लाई तोकिएको छ। फिल्ममा सञ्जित भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, पवित्रा साँकी (मिस पबी), हिउँवाला गौतम, धीरेन शाक्य, राजेन्द्र खड्की, रवि डंगोल, गोपाल ढकाल, सम्राट थापा, बेग पहारी, निरोज खुल्लाल, रामकाजी घिमिरे, सुवास गजुरेल, रवीन्द्र खड्का, सुनिता खड्का, वीरेन्द्र खड्का, सबिन बाँस्तोला, गीता अधिकारीलगायत कलाकारहरूको अभिनय छ।
सञ्जित भण्डारी र मोनु खड्काको लगानी रहेको फिल्ममा राजेन्द्र खड्गीको एक्सन निर्देशन, रामकाजी घिमिरेको पटकथा र संवाद, स्याडो रियलको कथा र शब्द, रामशरण उप्रेती र रामकुमार केसीको डीओपी, बनिष शाह र नवीन चौधरीको सम्पादन छ।
'किन लाग्छ माया' लाई आरआर फिल्मस्ले वितरण गर्नेछ।