फिल्म 'द ब्लु लाइट' को गीत 'कुन हावाले' सार्वजनिक भएको छ।
निर्माण पक्षले सोमबार 'मौरी पिक्चर्स' युट्युबमार्फत फिल्मको गीत सार्वजनिक गरेको हो। सलिना बिकेको स्वर रहेका यो गीतको शब्द शितुष्मा अधिकारीको हो भने यसमा एसडी योगीको संगीत छ।
भिडिओमा फिल्मका मुख्य कलाकारहरू आयुशमान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ प्रस्तुत छन्। सपना साकार हुन नपाउँदै भत्किएको संसार गीत र भिडिओमा सुन्न र हेर्न सकिन्छ। वाचा बाँधेर पूरा नगरी हिँड्नेहरूको कथा समेटेको गीतमा सपना भताभुंगा हुँदाको पीडा र बेचैनी प्रस्तुत छ।
वियोगान्त गीतले फिल्मको कथा संकेत गरेको छ। प्रेमलाई पूजा गर्ने र खेलवाड सम्झनेबीचको अन्तर फिल्ममा रहेको गीतबाट अनुमान लगाउन सकिन्छ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको 'द ब्लु लाइट' मा बेनिशा, अर्पण, आयुशमान, सृष्टिसँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।
बलिराम चौहान निर्देशित 'द ब्लु लाइट' स्काइफल पिक्चर्सले प्रस्तुत गरेको हो। फिल्ममा नरेन्द्र मैनालीको छायांकन, भोलानाथ कटुवाल र रमन ग्रेको सह–निर्माण छ। कार्यकारी निर्माता छायाँकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल हुन्।
'द ब्लु लाइट' माघ १६ गतेदेखि प्रदर्शनमा आउने तालिका तय छ।
भिडिओः