माघे संक्रान्तिको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आउने फिल्म 'भाइरल गोर्खे' को मंगलबार साँझ काठमाडौंमा प्रिमियर गरिएको छ।
न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित प्रिमियरमा फिल्मका मुख्य कलाकारहरू अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्लका साथमा थुप्रै फिल्मकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रह्यो। पूजा शर्मा, सिसन बानियाँ, जयकिशन बस्नेत लगायतले प्रिमियरमा पुगेर फिल्म हेरे।
प्रिमियरमा सृष्टिले नेवारी पोशाकमा पुग्दा सौगात नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवालमा उपस्थित भएका थिए। फिल्मका निर्देशक निगम श्रेष्ठ, निर्माताहरू अमित श्रेष्ठ, महेश लामिछाने र सह–निर्माता शुभेच्छा पौडेल पनि प्रिमियरमा उपस्थित रहे।
प्रिमियरमा निर्देशक निगम निर्देशकीय पाटोसहित अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनयको प्रशंसा भएको थियो।
साथै फिल्मले दिने सन्देशको प्रशंसा गरिएको थियो।
अभिनेत्री पूजा शर्माले 'भाइरल गोर्खे' मनोरञ्जनसहित सन्देशमूलक फिल्म बनेको प्रतिक्रिया दिइन्।
चर्चित भ्लगर तथा मोडल सिसन बानियाँले पनि 'भाइरल गोर्खे' हेरेर आनन्द मिलेको बताए। सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा मिडियासँग उनले भने, 'पछिल्लो समय नेपालमा भाइरल बन्ने ट्रेण्ड प्रचलनमा रहेकाले त्यसमाथी निर्देशक निगम श्रेष्ठले सुन्दर फिल्म निर्माण गर्नुभएको रहेछ। खुशी लाग्यो फिल्म हेरिरहँदा पर्दामा केही नयाँ देख्न पाएँ। जसले मनोरञ्जनसँगै सन्देश पनि दिएको छ।'
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले प्रिमियरमा मिलेको प्रतिक्रियाले उत्साहित बनाएको बताए।
'हामीले यो फिल्मको लागि निकै मेहनत गरेका थियौं। आज त्यो मेहनतको प्रतिफल सुन्दर निस्केको छ। खुशी लाग्छ। अब दर्शकको साथ र उत्कृष्ट प्रतिक्रियाको अपेक्षा छ', उनीहरूले भने।
निर्देशक निगम श्रेष्ठले दर्शकलाई पनि फिल्म मन पर्छ भन्नेमा विश्वस्त रहेको बताए।
फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल, मिस पवीलगायत कलाकारहरूको अभिनय छ। 'भाइरल गोर्खे' को मंगलबारदेखि नै अग्रिम टिकट बुकिङ सुरू भएको छ।


