प्रदर्शन तयारीमा रहेको मनोवैज्ञानिक थ्रिलर फिल्म 'द ब्लु लाइट' को ट्रेलर सार्वजनिक भएको छ।
निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको ट्रेलरमा प्रेम, डर, छलकपट र बदलाको कथा समेटिएको छ। रहस्य, भयावह परिस्थिति, पात्रहरूको भावनात्मक लडाईँको कथा ट्रेलरमा देख्न सकिन्छ।
फिल्मको कथा भने ट्रेलरमा प्रष्टसँग अझै खुलाइएको छैन। उत्सुकता सिर्जना गर्न ट्रेलर सफल देखिन्छ।
ट्रेलरमा फिल्मका अधिकांश कलाकारहरूलाई देख्न सकिन्छ। फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारको भूमिकामा ग्रिस्मा कटुवाल र सहारा शर्माको अभिनय छ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको 'द ब्लु लाइट' बलिराम चौहानले निर्देशन गरेका हुन्। उनको यो डेब्यु निर्देशन हो।
फिल्मको सह-निर्माताका रूपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। कार्यकारी निर्मातामा भने छायाँकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन्।
नरेन्द्र मैनालीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्म माघ १६ गतेदेखि प्रदर्शनमा आउने तयारी छ।