यो साता नेपालमा नेपालीसहित बलिउड र हलिउड फिल्म प्रदर्शनको तयारीमा छन्। शुक्रबार (माघ ९) देखि नेपाली फिल्म 'परिवर्तन' प्रदर्शन हुँदैछ।
सुशील श्रेष्ठको मुख्य अभिनय रहेको 'परिवर्तन' एक्सन-ड्रामा फिल्म हो। यसमा सुशीलले अन्यायविरूद्ध दृढतापूर्वक उभिने पात्रको भूमिका निर्वाह गरेका छन्।
विजय केरूङ निर्देशित फिल्ममा सुशीलसहित अञ्जना बराइली, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकीलगायत कलाकारहरूको अभिनय छ। फिल्मको रनटाइम २ घण्टा १० मिनेट तय छ।
त्यस्तै, सोही दिन बलिउडको वार-ड्रामा फिल्म 'बोर्डर' को सिक्वेल 'बोर्डर २' रिलिज हुँदैछ। अनुराग सिंह निर्देशित फिल्ममा सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टीलगायत कलाकारहरूको अभिनय छ। सीमा क्षेत्रमा हुने तनाव, सैनिकहरूको व्यक्तिगत संघर्ष र देशका लागि ज्यान अर्पण गर्न तयार भावनालाई फिल्मले कथाको केन्द्रमा राखेको छ।
सन् १९९७ मा रिलिज 'बोर्डर' सुपरहिट फिल्म हो। त्यसको झन्डै २८ वर्षपछि सिक्वेल आउन लागेको हो।
यसै शुक्रबार हलिउड फिल्म 'मेरसी' पनि प्रदर्शन तयारीमा छ। क्रिस प्र्याट र बेरेक्का फर्ग्युसन अभिनीत यो विज्ञानकथामा आधारित फिल्म हो। यसलाई एक्सन-क्राइम जनरामा राखिएको छ।
तैमुर बेकमाम्बेटोभ निर्देशित फिल्ममा अत्याधुनिक कृत्रिम बौद्धिक प्रणाली र मानव न्याय व्यवस्थाबीचको द्वन्द्वलाई मुख्य विषय बनाइएको छ। यो फिल्मको रनटाइम १ घण्टा ३६ मिनेट तय छ।
तीनवटै फिल्मलाई नेपालका ठूला मल्टिप्लेक्सहरूले 'कमिङ-सुन' को सूचीमा राखेका छन्। मंगलबार बेलुकासम्म बुकिङ भने खुलिसकेको छैन।