फिल्म 'हरिबहादुरको जुत्ता' टिमले नयाँ फिल्म 'श्रीनिवास' निर्माणको घोषणा गरेको छ।
गएको दसैंको फूलपातीमा रिलिज भएको 'हरिबहादुरको जुत्ता' ले दर्शकको राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएको थियो।
एसएम मोसन पिक्चर्सले आफ्नो ब्यानरमा दोस्रो फिल्मको रूपमा 'श्रीनिवास' को मंगलबार औपचारिक निर्माण घोषणा गरेको हो। फिल्ममा वरिष्ठ अभिनेता हरिवंश आचार्य र नव अभिनेता अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन्। अभिषेकको डेब्यु फिल्म ‘कुमारी’ यही माघ २३ गतेदेखि प्रदर्शन तयारीमा छ।
हरिवंशले सामाजिक सञ्जालमा तस्बिर राख्दै आफू 'श्रीनिवास' मा अनुबन्ध भएको जानकारी दिएका छन्।
सरोज ओली र मोहितवंश आचार्यको निर्माण रहने फिल्मलाई सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्नेछन्। यसअघि यी दुईले फिल्म 'बेहुली फ्रम मेघौली' निर्देशन गरेका थिए।
फिल्म 'श्रीनिवास' मा अभिमन्यु निरावीको लेखन रहनेछ। फिल्मका अन्य कलाकार तथा प्राविधिक पक्षबारे छिट्टै जानकारी दिइने निर्माता सरोज ओलीले बताए।
'‘हरिबहादुरको जुत्ता’ लाई दर्शकले दिनुभएको माया र विश्वासले हामीलाई अझ जिम्मेवार बनाएको छ', निर्माता ओलीले भने, 'श्रीनिवास मार्फत पनि अर्थपूर्ण कथा र बलियो प्रस्तुति दर्शकमाझ ल्याउने प्रयास रहनेछ।'