नेपाली फिचर फिल्म 'एक मुठ्ठी बादल' आउँदो वर्षको जेठ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेको हो। फिल्मका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन्। फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।
तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने फिल्मले तीव्र गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबीचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गर्ने बताइएको छ।
फिल्मको लेखन तथा निर्देशन सहारा शर्माले गरेकी हुन्। अमेरिकाको न्युयोर्क बस्दै आएकी सहाराले यसअघि 'चेजिङ रेन्बोज' शीर्षकको फिल्म निर्देशन गरेकी थिइन् जुन २०१३ मा भएको काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलको ओपनिङ फिल्म थियो।
फिक्सन फिचरका साथ महोत्सवको उद्घाटन गर्ने सबैभन्दा कान्छी महिला निर्देशक बनेकी सहाराले यही महोत्सवको नेपाली पनोरोमा तर्फको शीर्ष पुरस्कार पनि जितेकी थिइन्।
'एक मुठ्ठी बादल' ले पनि थुप्रै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ। फिल्मले युरोपियन पोस्ट–प्रोडक्सन ग्रान्ट ह्युबर्ट बल्स फन्ड प्राप्त गर्ने महिला निर्देशक निर्देशित पहिलो नेपाली फिल्मको रूपमा इतिहास कायम गरेको छ।
योबाहेक फिल्मले विश्वका प्रतिष्ठित ल्याबसँग सहकार्यको अवसर पाएको थियो। २०२१ मा निर्माता अभिमन्यु दीक्षितले भारतको एनएफडिसी फिल्म बजारमा रोटरेड्याम ल्याब अवार्ड प्राप्त गरेका थिए। यसैगरी फिल्मले फ्रान्सको कान फिल्म फेस्टिभलमा मार्चे डु फिल्मसँग सम्बन्धित कार्यक्रमहरू, स्विट्जरल्याण्डको लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी र बंगलादेशको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा सहभागिता जनाएको थियो।
यो फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्। जर्मनमा बसोबास गर्ने फाजिलातले आफ्नो कम्पनी थर्ड कल्चर किड्स मार्फत् युरोप र एसियाभरि अन्तर्राष्ट्रिय स्तरमा केन्द्रित फिल्महरू र उदीयमान फिल्म निर्माताहरूलाई सहयोग गर्दै आएकी छिन्।
'एक मुठ्ठी बादल' मा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायत कलाकारहरूको अभिनय छ। आँचल शर्माले माइली चरित्रको रूपमा केन्द्रीय भूमिका निर्वाह गरेकी छिन् भने अनुभवी अभिनेत्री निशा शर्मा तीन दशकभन्दा बढी समयपछि फिल्म अभिनयमा फर्किएकी छिन्। फिल्ममा उषा रजक आँचलको दिदीको भूमिकामा छिन्।
फिल्मको निर्माणमा अन्तर्राष्ट्रिय फिल्मकर्मीको पनि सहभागिता रहेको छ। फिल्मको छायांकन भियतनामकी लिन्ह डान गुयेन फानले गरेकी हुन्, जसले फिचर फिल्म छायांकन गर्ने पहिलो भियतनामी महिलाको रूपमा इतिहास रचेकी थिइन् र यो उनको सातौं फिचर फिल्म हो।
प्रडक्सन डिजाइन भारतकी यशस्वी सभरवालले गरेकी हुन्, जसको ‘अल वि इम्याजिन एज लाइट’ को कामले कान फिल्म फेस्टिभलमा ग्रान्ड प्रिक्स जितमा योगदान पुर्याएको थियो।
सम्पादन भारतीय सम्पादक दीपा भाटियाद्वारा गरिएको हो, जो 'तारे जमिन पर' मा आफ्नो कामको लागि अन्तर्राष्ट्रिय रूपमा परिचित छिन्। फिल्मको कलर ग्रेडिङ थाइल्यान्डको ह्वाइट लाइटले गरेको हो।
नेपालबाट फिल्मका विधागत प्रमुखहरूमा अग्रणी ठकुरी झा (कला), जानकी कडायत (भेषभूषा डिजाइन), कीर्ति जोशी (मेकअप) समावेश छन्। ची मुसी ची फिल्मकी निर्देशक मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रूपमा शर्मिला आले र मीरा खड्काले सहयोग गरेका छन्।
