बलिउड अभिनेत्री कियारा आडवाणी दोस्रो पटक आमा बन्न लागेकी छन्। गर्भावस्था बेला उनले टेलिभिजन कार्यक्रममा लगाएको पहिरन अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ।
निर्देशक तथा निर्माता करण जोहरको चर्चित कार्यक्रम 'कफी विथ करण' को नवौं सिजनमा कियारा आफ्ना पति तथा अभिनेता सिद्धार्थ मल्होत्रासँग सहभागी भएकी हुन्।
मंगलबार सार्वजनिक गरिएको कार्यक्रमको प्रोमोमा कियारा रातो रङको पहिरनमा देखिएकी छन्। उनको पेटमा चाँदीको ताराको आकृति राखिएको छ।
यही ताराले प्रशंसकलाई कियाराको पुरानो पहिरन सम्झाएको हो।
भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' का अनुसार एक प्रशंसकले कियाराको अहिलेको पहिरनलाई सन् २०२५ को मेट गालामा उनले लगाएको पहिरनसँग तुलना गर्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका थिए।
त्यस बेला कियारा पहिलो सन्तानको आमा बन्न लागेकी थिइन्।
मेट गालामा उनले भारतीय फेसन डिजाइनर गौरव गुप्ताले तयार पारेको विशेष पहिरन लगाएकी थिइन्। उक्त पहिरनमा सुनौलो रङका दुईवटा मुटुको आकृति थिए। ती मुटुलाई गर्भनालको प्रतीकात्मक आकृतिले जोडिएको थियो।
पहिरनमार्फत आमा र गर्भमा रहेको बच्चाबीचको सम्बन्ध देखाउने प्रयास गरिएको थियो।

अहिले दोस्रो गर्भावस्थामा कियाराले लगाएको रातो पहिरनमा रहेको चाँदीको तारालाई एक प्रशंसकले पुरानै पहिरनको प्रतीकात्मक निरन्तरताका रूपमा व्याख्या गरेका छन्।
कियाराले पनि प्रशंसकको उक्त पोस्ट आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छन्।
उनले त्यसमा नजर नलागोस् भन्ने अर्थको इमोजी र मुटुको इमोजी राखेकी थिइन्।
कियारा र सिद्धार्थ पहिलो पटक जोडीका रूपमा 'कफी विथ करण' मा देखिन लागेका हुन्।
कार्यक्रमको प्रोमोमा उनीहरू आफ्नो विवाह र वैवाहिक जीवनका रमाइला प्रसंग सुनाइरहेका छन्।
एउटा प्रसंगमा कियाराले आफ्नो विवाह समारोहमा करण जोहरले गरेको नृत्य सम्झाएकी छन्। करणसँग नाच्न आएका अभिनेता शाहिद कपुरलाई उनले मञ्चबाट धकेलेको भन्दै कियाराले ठट्टा गरेपछि कार्यक्रममा हाँसो छाएको देखिन्छ।
अर्को प्रसंगमा करणले सिद्धार्थलाई फिल्ममा गर्ने अभिनय घरमा पनि गर्ने गरेको छ कि छैन भनेर सोधेका छन्।
सिद्धार्थले कामलाई घरसम्म नल्याउने भन्दै ठट्टापूर्ण जबाफ दिएका छन्।
कियारा र सिद्धार्थले सन् २०२३ फेब्रुअरी ७ मा राजस्थानको जैसलमेरमा विवाह गरेका थिए।
उनीहरू सन् २०२१ मा सार्वजनिक भएको फिल्म 'शेरशाह' मा सँगै देखिएका थिए।
उनीहरूको पहिलो सन्तान छोरी सरायाह मल्होत्राको जन्म सन् २०२५ जुलाईमा भएको थियो।
दोस्रो पटक आमा बन्न लागेकी कियाराले फेरि आफ्नो गर्भावस्थालाई विशेष पहिरनमार्फत प्रस्तुत गरेपछि प्रशंसकबीच उनको चर्चा बढेको हो।