अनमोल केसी अभिनीत फिल्म 'बाटुलो जून' प्रदर्शनमा आएको छ। फिल्म आज (बिहीबार)देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो।
प्रदर्शनको पहिलो दिन बिहानैदेखि फिल्मले दर्शकको राम्रो साथ पाएको छ। काठमाडौं उपत्यकासहित चितवन, बुटवललगायतका सहरमा फिल्मका शोमा दर्शकको उपस्थिति उत्साहजनक देखिन्छ।
बिहीबार बिहानैका कतिपय शो हाउसफुल भएका छन् भने अन्य शोमा पनि अकुपेन्सी उच्च देखिएको छ। बिहानका शोमा देखिएको दर्शकको चाप दिउँसो र बेलुकाका शोमा पनि कायम रहने संकेत देखिएको छ। बेलुकासम्मका शोमा समेत अग्रिम बुकिङ बलियो देखिन्छ।
बुकिङमा सिटहरू क्रमश: भरिँदै जाँदा फिल्मको बुकिङ राताम्मे हुँदै गएको छ। कतिपय शो शोटाइमअघि नै हाउसफुल देखिएका छन्।
यो फिल्मले प्रदर्शनअघि नै दर्शकमाझ राम्रो हाइप बनाएको थियो। फिल्मको हाइपलाई मध्येनजर गर्दै मल्टिप्लेक्सहरूले पनि फिल्मलाई राम्रो शो उपलब्ध गराएका छन्।
प्रदर्शनको पहिलो दिन देखिएको दर्शकको उत्साहले रिलिजअघिको हाइपलाई हलसम्मै तानेको देखिन्छ। तर, फिल्मको व्यावसायिक यात्रा कति लामो हुनेछ भन्ने कुरा अब दर्शकको प्रतिक्रियामा निर्भर रहनेछ। सकारात्मक 'माउथ पब्लिसिटी' पाउन सके फिल्मले आगामी दिनमा पनि हलमा आफ्नो पकड बलियो बनाउन सक्छ।
'बाटुलो जून'मा अनमोल पहिलोपटक ग्रामीण परिवेशको कथा र गाउँले चरित्रमा प्रस्तुत भएका छन्। भुवन केसी निर्देशित फिल्ममा अनमोलसँगै नव-अभिनेत्री प्रिन्सी खतिवडा मुख्य भूमिकामा छन्। फिल्ममा भुवन केसी, गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना र लक्ष्मी गिरीलगायत कलाकारको समेत अभिनय छ। बेल्जियममा बस्दै आएकी अभिनेत्री गरिमा पन्त यही फिल्ममार्फत अभिनयमा कमब्याक गरेकी हुन्।
फिल्मको कथा वि.सं. २०४० को दशकको नेपाली सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित रहेको जनाइएको छ। तत्कालीन समयको प्रेम, सामाजिक अवस्था र जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास फिल्मले गरेको निर्माणपक्षले जनाएको छ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा जिया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सह-निर्माता छन्। फिल्ममा राजेश श्रेष्ठको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ।