अभिनेता दयाहाङ राईले फिल्म 'लुट' नेपाली दर्शकलाई मन पर्छ भनेर बनाइएको सिनेमा नभएको बताएका छन्।
वि.स. २०६८ सालमा प्रदर्शनमा आएको 'लुट' ले नेपाली सिनेमामा नयाँ शैली र प्रस्तुति भित्र्याएको थियो।
'लुट नेपाली दर्शकलाई मन पर्छ भनेर बनाइएको फिल्म थिएन,' दयाहाङले भने, 'निश्चल बस्नेतले 'मैले हेर्न चाहेको सिनेमा यस्तो हो' भनेर बनाएको हो। त्यो सिनेमा खासमा एउटा मेकरका लागि हेर्न बनाइएको थियो।'
फिल्म प्रदर्शन हुनुअघि धेरैलाई 'लुट' को शैली अनौठो लागेको उनी सम्झन्छन्। 'धेरैलाई के गर्या केटाहरुले भन्ने नै लागिरहेको थियो,' दयाहाङले भने, 'तर जब बजारमा पुग्यो, त्यो सिनेमा मेकर वा कलाकारलाई मात्र होइन, दर्शकलाई पनि त्यस्तै हेर्न मन लागेको रहेछ।'
'मेरो लागि जारी भन्दा जारी २ बलियो सिनेमा'
दयाहाङ कुनै फिल्मको मूल्य केवल व्यापारसँग मात्र नजोडिने बताउँछन्। कुनै फिल्मले व्यापारिक सफलता पाएपछि कलाकारमा अहंकार आउन सक्ने तर आफूले त्यसलाई धेरै महत्व नदिने उनले बताए।
'कमर्शियली सफल भयो भनेर एकछिन नाक फुलाउनु मान्छेको स्वभाव हो,' उनले भने, 'तर म फिल्म चलेन भनेर धेरै दुखी पनि हुँदिनँ र चल्यो भनेर असाध्यै खुसी पनि हुँदिनँ।'
उनले आफूले अभिनय गरेका केही फिल्म तत्कालिन समयमा रमाइलो लागेर गरेको भए पनि त्यसको प्रभाव पछि नकारात्मक पनि हुन सक्ने स्वीकार गर्छन्। तर केही फिल्म तत्काल बक्स अफिसमा नचले पनि समयसँगै त्यसको मूल्य बढ्न सक्ने बताउँछन्।
'कहिलेकाहीँ कुनै सिनेमा बक्स अफिसमा केही काम गर्दैन। तर मलाई विश्वास छ, ती सिनेमाबारे कुनै न कुनै समयमा चर्चा हुन्छ। त्यसले भन्न खोजेको कुराबारे कुरा भइरहन्छ,' उनले भने, 'त्यसका लागि नै काम गरिँदो रहेछ।'
दयाहाङका अनुसार फिल्म सफल हुने मुख्य आधार सर्जकको इमानदारी हो।
'जसले आफूलाई भन्न मन लागेको कथा इमानदारीका साथ भन्छ, त्यो सफल हुन्छ,' उनले भने, 'किनभने उसलाई भन्न मन लागेको कथा नयाँ आइडिया हुन्छ। टेस्ट नै नयाँ हुन्छ, र नयाँ आइडिया मानिसलाई मन पर्छ।'
दयाहाङले सुपरहिट फिल्म 'जारी' र 'जारी २' को सन्दर्भमा पनि आफ्नो व्यक्तिगत दृष्टिकोण फरक रहेको बताए।
उनले आफ्ना लागि 'जारी' भन्दा 'जारी २' बलियो सिनेमा रहेको बताए। अगाडि भने, 'कमर्शियली 'वान' जति सफल नभए पनि मेकिङ र कन्टेन्टका हिसाबले जे भन्नु थियो, त्यो '२' ले राम्रोसँग भन्यो।'
उनका अनुसार यो धारणा सबैको समान नहुन सक्छ। 'निर्देशकका लागि नहुन सक्छ, निर्माताका लागि नहुन सक्छ, को-एक्टरका लागि पनि नहुन सक्छ,' दयाहाङले भने, 'तर व्यक्तिगत रूपमा मेरो लागि जारी भन्दा जारी २ धेरै बलियो सिनेमा हो।'
'जारी २' प्रदर्शनपछि फिल्म 'मिरमिरे' रिलिजअघि सेतोपाटी स्टुडिओमा कुरा गर्दै दयाहाङले यी कुरा बताएका हुन्।
यस्तो छ अभिनेता दयाहाङ राई र प्रकाश सपूतबीच भएको उक्त भिडिओ कुराकानीः-