अभिनेत्री आँचल शर्माको मुख्य अभिनय रहेको फिल्म 'एक मुठ्ठी बादल'को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंमा कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरले विवाहको तयारीमा जुटेको एक परिवारको कथा प्रस्तुत गरेको छ। विवाह नजिकिँदै जाँदा परिवारका सदस्यहरू भेला भएको देखाइएको छ।
तर खुसीको माहोलबीच अचानक घट्ने एक अप्रत्याशित घटनाले परिवारको सन्तुलन नै हल्लाउने संकेत ट्रेलरमा गरिएको छ। त्यसपछि सम्बन्धभित्र दबिएका भावना, पुराना घाउ र वर्षौंदेखि नबोलेका विषय बाहिरिन थालेको दृश्यहरू समेटिएका छन्।
फिल्मले परिवारको सदस्य हुनुको अर्थ, घर छोडेर नयाँ यात्रामा निस्कने समय, परिवर्तनशील संसारमा आफ्नो स्थान खोज्ने संघर्ष तथा पारिवारिक सम्बन्धभित्रको भावनात्मक द्वन्द्वलाई उठाएको देखिन्छ।
सहारा शर्माको लेखन तथा निर्देशन रहेको 'एक मुठ्ठी बादल' मा आँचलसहित निशा शर्मा, उषा रजक, सहयोग अधिकारी, शेखर चापागाईं, मनिष निरौला, अविरल प्रताप अधिकारी, गौरव विष्ट, भीमा मैनाली, अस्मिता गौतमलगायत कलाकारहरूको अभिनय छ।
अभिमन्यु दीक्षितको निर्माण रहेको फिल्ममा निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन्। निर्मातामा सारा फजिलत, सामिप्यराज तिमल्सेना र अनुप पौडेल छन्।
लिन्ह डान गुयेन फानको छायांकन रहेको फिल्ममा गौरव कुमार मल्लिकको सम्पादन छ। फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन्।
'एक मुठ्ठी बादल' जेठ १ गतेदेखि प्रदर्शन तयारीमा छ।