विजय बराल र वर्षा राउत अभिनीत फिल्म 'मालती मंगले'को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरस्थित लबिम मलको क्यूएफएक्स सिनेमाजमा आयोजित समारोहमा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरले फिल्मलाई पूर्ण पारिवारिक तथा सामाजिक कथामा आधारित रहेको संकेत गरेको छ। परम्परागत गाउँको परिवेशमा प्रेम, संघर्ष र सामाजिक दबाबको कथा फिल्मले प्रस्तुत गर्ने टे«लरले देखाउँछ।
ट्रेलरमा मालती (वर्षा राउत) र मंगले (विजय बराल) बीचको प्रेम, उनीहरूको सम्बन्धमा आउने उतारचढाव तथा पारिवारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ। यस्तै, साथीभाइबीचको सम्बन्ध, त्यसमा आउने तनाव तथा छोरा-छोरीबीच समाजले गर्ने विभेदकारी सोचलाई पनि ट्रेलरमा उठान गरिएको छ। अभिनेता मेक्सम गौडेल पनि फिल्ममा शीर्ष भूमिकामा छन्।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्म प्रकु पाण्डेले निर्देशन गरेका हुन्। कथा स्वयं निर्देशक पाण्डेयकै रहेको फिल्ममा पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।
ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको साथमा फिल्मका निर्माता तथा गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवालीका साथै अन्य टिमको उपस्थिति रहेको थियो।
यो फिल्ममा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङलगायत कलाकारहरूको अभिनय छ। फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरूङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्।
महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण छ।
'मालती मंगले' यही वैशाख २५ गतेदेखि प्रदर्शन तयारीमा छ।