उच्च अदालत पाटनले 'लालीबजार' सिनेमालाई प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
मंगलबार न्यायाधीश प्रकाश ढुंगानाको इजलासले उक्त सिनेमा तत्काललाई प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
‘रिट निवेदनमा उठाइएका विषयवस्तुले निवेदक समेतलाई अपूरणीय क्षति पुग्ने देखिँदा सुविधाको सन्तुलनका आधारमा वैशाख २२ गतेसम्म सार्वजनिक रूपमा लालीबजार नामक चलचित्र प्रदर्शन गर्ने कार्य नगर्नु/नगराउनु भनी विपक्षीहरूका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,' उक्त आदेशमा भनिएको छ।
रोशनी नेपालीले उक्त सिनेमाले वादी समुदायलाई निच देखाउने काम गरेको, भेदभावलाई न्यायोचित ठानेको भन्दै उच्च अदालतमा रिट दायर गरेकी थिइन्।
यस विषयमा सुनुवाइ गर्दै न्यायाधीश ढुंगानाले विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ माग गरेको छ।
यस विषयमा सिनेमा रोक्न माग गरिएको अन्तरिम आदेशको सन्दर्भमा पक्ष र विपक्ष दुबैको कुरा सुन्ने बताउँदै इजलासले वैशाख २२ गतेको लागि पेसी तोकेको छ।
'लालीबजार' लाई रोक्न उच्च अदालत पाटनले सर्वोच्च अदालतले सात वर्षअघि दिएको एक फैसलालाई आधार मानेको छ।
२०७५ साल फागुन १५ गते सर्वोच्च अदालका न्यायाधिश ईश्वर प्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले नथिया’ तथा ‘ऐलानी’ उपन्यास र ‘पण्डित बाजेको लौरी’ नामक चलचित्र विरूद्ध परेको रिटमा फैसला गर्दै चलचित्र विकास बोर्डको नाममा एउटा निर्देशनात्मक आदेश जारी गरेको थियो।
'वादी समुदायलगायत कुनै पनि जात जाति, धर्म, वर्ण, क्षेत्र सम्प्रदायका मानिसहरूको मान-मर्यादा, इज्जत प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने कसैप्रति घृणा, द्वेष वा वैमनस्यता उत्पन्न गर्ने, साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता शब्द-चित्रसहितका चलचित्रहरूको प्रदर्शन गर्ने कुरामा नियन्त्रण कायम गर्न नेपालको संविधान एवं प्रचलित कानुनद्वारा निर्देशित दायरामा रही प्रभावकारी रूपमा नियमानकारी भूमिका निर्वाह गर्नू,' उक्त फैसलामा भनिएको थियो।
यही आधार देखाएर सर्वोच्च अदालतले रिटका दुवैपक्षको छलफलपछि मात्र अन्तरिम आदेश दिने वा नदिने निर्णय सुनाउने आदेश गरेको हो।
संविधानले प्रत्याभूत गरेको आधारभूत मौलिक हकहरूको उल्लंघन हुने गरी समग्र वादी समुदाय एवं विशेष रूपमा वादी महिलाको सम्मानपूर्वक बाँच्न पाउने हक तथा वादी समुदाय एवं विशेष रूपमा वादी महिलाको भावना, मर्म, इज्जत, प्रतिष्ठा, सम्मानमा आघात पार्ने गम्भीर चोट पुर्याउने कार्य भएको भन्दै रिट दायर भएको हो।
षटकोण आर्टसको प्रस्तुति रहेको 'लालीबजार' वैशाख १८ गते शुक्रबारदेखि प्रदर्शन तयारीमा थियो।
फिल्म सोमबार मात्रै सेन्सर पास भएको थियो।