विपिन कार्की र केकी अधिकारीको मुख्य अभिनय रहेको फिल्म 'काजी' को पहिलो गीत सार्वजनिक गरिएको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच ‘वारि बर पारी पिपलु’ बोलको गीत सार्वजनिक गरिएको हो। चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीत फिल्मको कथाभाव बुझाउने खालको छ।
गीतमा नेपाल आइडलका विजेता गंगा सोनम र करण परियारको स्वर सुन्न सकिन्छ। गंगाले यही फिल्मबाट पाश्र्व गायनमा डेब्यु गरेकी गरेकी हुन्।
ग्रामीण परिवेशमा तयार भिडिओमा नव-विवाहित जोडीको प्रेमकथा देखाइएको छ। अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी नव-विवाहित जोडीको भूमिकामा देखिएका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा विपिन र केकीको प्रेमिल दैनिकीसँगै बिहानको पूजापाठदेखि खेतबारीको कामको दृश्य समेटिएको छ।
फिल्म 'काजी' लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको हो। रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन्। निर्मातामा रामप्रसाद रिजाल, नेहान रिजाल, विकास राज जोशी छन् भने कार्यकारी निर्माता अशिम काफ्ले हुन्।
फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहनी, विनोद न्यौपाने, रश्मी भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी, दिक्षिता अर्याल, आरव बराल, सुपला सापकोटालगायत कलाकारहरूले अभिनय गरेका छन्।
निर्माण टिमका अनुसार फिल्म भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटाहरूलाई उजागर गर्ने प्रयास गर्छ।
प्रदीप भारद्धाजको कथा लेखन रहेको फिल्म चिन्तन राजभण्डारीले छायांकन तथा विपीन मल्लले सम्पादन गरेका हुन्।
'काजी' जेठ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।