शुक्रबारदेखि तीन नयाँ नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्।
'लालीबजार', 'मालती मंगले' र 'गुरूआमा' देशभरका हलमा रिलिज भएका हुन्। तीनै फिल्मले फरक-फरक विषयवस्तु प्रस्तुत गरेका छन्।
'लालीबजार' पट्कोण आर्टस्को सामाजिक ड्रामा फिल्म हो। यम थापाको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, विशाल देवकोटा, मुकुन्दकुमार श्रेष्ठ, समाइरा थापा, प्रशंसा सुवेदीलगायत कलाकारहरूको अभिनय छ। १३७ मिनेट लामो यस फिल्मले बादी समुदायकी एक महिलाले छोरीका लागि गर्ने संघर्षको कथा भन्छ।
त्यस्तै, रामकृष्ण ढकालको निर्माण रहेको 'मालती मंगले' प्रेम, संघर्ष र सामाजिक दबाबको कथामा आधारित ड्रामा-रोमान्स जनराको फिल्म हो। फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको छ। यसको निर्देशन प्रकु पाण्डेले गरेका हुन्। यसको रनटाइम १५८ मिनेट छ।
यस्तै, 'गुरूआमा' शिक्षाको महत्व र सामाजिक समस्यामाथि केन्द्रित फिल्म हो। १२८ मिनेट लामो यस फिल्ममा मिथिला शर्मा शीर्ष भूमिकामा छिन्। उनी एक समर्पित शिक्षिकाको भूमिकामा देखिएकी छन्। फिल्ममा बुद्धि तामाङ, प्रेम सोनी सुनार र सुशील पोखरेलको पनि शीर्ष अभिनय रहेको छ। फिल्मको निर्देशन प्रेम सोनी सुनारले गरेका हुन्।
हलमा शुक्रबार विदेशी फिल्म समेत रिलिज भएका छन्। बलिउडको 'कृष्णावतरम पार्ट १' र हलिउडको 'मोर्टल कम्ब्याट' रिलिज भएका हुन्।
यसअघि रिलिज नेपाली फिल्म 'परालको आगो' पनि हलमा प्रदर्शनरत छ।