विपिन कार्की र केकी अधिकारीको मुख्य अभिनय रहेको फिल्म 'काजी'को ट्रेलर सार्वजनिक गरिएको छ।
मंगलबार सार्वजनिक ३ मिनेटभन्दा लामो ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध, जिम्मेवारी र संघर्षको भावनात्मक कथा प्रस्तुत गरिएको छ।
यो फिल्ममा विपिन 'काजी' र केकी 'कजिनी' पात्रका रूपमा देखिएका छन्।
गाउँले परिवेशमा आधारित कथामा यी दुईको जीवनमा आउने उतारचढाव, भावनात्मक द्वन्द्व र सम्बन्धको जटिलतालाई देखाउने प्रयास गरिएको देखिन्छ।
केकी अधिकारीसँग विपिनको जोडी मुख्य आकर्षण बनेको देखिन्छ। दुवैबीचको सम्बन्ध, संवाद र भावनात्मक दृश्यले कथामा प्रेमसँगै संवेदनशील पक्ष पनि बलियो रहेको संकेत गर्छ। त्यस्तै, गरिमा शर्माको उपस्थितिले कथामा अर्को मोड आउने आभास गराउँछ।
ट्रेलरमा गाउँघरको परिवेश, पारिवारिक तनाव, समाजको दबाब र मानवीय सम्बन्धलाई प्रस्तुत गरिएको देखिन्छ। केही दृश्यमा हास्यरस पनि मिसाइएको छ भने भावनात्मक दृश्यहरूले फिल्मलाई पारिवारिक ड्रामाको स्वरूप दिएको अनुमान गर्न सकिन्छ।
लक्ष्मण रिजालको निर्देशनमा बनेको 'काजी'मा विपिन, केकी र गरिमा शर्मासहित हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दिपबाबु लोहनी, विनोद न्यौपाने, रमिता, प्रशंसा सुवेदी, नवराज गिरी, बुद्धराज खनाल, गंगा शर्मा, रोजी श्रेष्ठ, हरिप्रसाद कोइराला, रेशम कोइराला, आरव बराल, सुपला सापकोटा, दीक्षिता अर्याललगायत कलाकारहरूको अभिनय छ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको 'काजी' मा प्रदीप भारद्धाजको लेखन, चिन्तन राजभण्डारीको छायांकन, विपिन मल्लको सम्पादन छ।
'काजी' जेठ ८ गतेदेखि प्रदर्शन तयारीमा छ।