अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय फिल्म 'पार्वती'को पहिलो झलक सार्वजनिक गरेकी छन्। शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दुईवटा पोस्टर सार्वजनिक गरिएको हो।
पोस्टरहरूमा नीतालाई फरक र चुनौतीपूर्ण चरित्रमा प्रस्तुत गरिएको देखिन्छ। पहिलो पोस्टरमा उनी स्कुले छात्राको पोसाकमा देखिन्छिन्। उनी सामान्य विद्यार्थीभन्दा केही फरक शैलीमा प्रस्तुत भएकी छन्।
उनको पात्र 'पार्वती' कुनै विशेष मानसिक वा सामाजिक अवस्थाबाट गुज्रिरहेको संकेत गर्छ। उनको हेराइ र मुस्कानमा देखिएको निर्दोषताले पार्वती आफ्नै संसारमा रमाउने र सामान्यभन्दा फरक सोच भएको पात्र हुन सक्ने अनुमान गर्न सकिन्छ।
यस्तै, अर्को पोस्टरमा बालगायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेका छन्। उमेरले सानो भए पनि अशोकको पात्रले नीताको पात्रलाई बोकेको दृश्यले फिल्ममा उनको भूमिका संरक्षक वा आधारको रूपमा रहेको संकेत गर्छ। दुवै पात्रको अनुहारमा देखिएको सहज हाँसोले उनीहरूबीचको सम्बन्ध निस्वार्थ र भावनात्मक रहेको बुझिन्छ । नीताले आकाशतर्फ औँला देखाएको दृश्यले सपना, कल्पना वा आकांक्षाको प्रतिनिधित्व गर्छ।
फिल्मको शीर्षक 'पार्वती' लेखिएको शैलीले पनि पात्रको जीवनमा आउने संघर्ष, विद्रोह वा समाजले दिने 'ट्याग'लाई प्रतिवाद गर्ने संकेत गरेको देखिन्छ। दोस्रो पोस्टरको पृष्ठभूमिमा भित्ताभरि चकले 'माया', 'परिवार', 'स्नेह', 'किरण' जस्ता शब्दहरू लेखिएका छन्। यसले फिल्म स्कुल वा शैक्षिक परिवेशमा आधारित कथा हुन सक्ने संकेत गर्छ।
फिल्म 'पार्वती' २०८३ सालको रक्षाबन्धन (भदौ १२) देखि प्रदर्शन हुनेछ। रिलिजका लागि रक्षाबन्धनको अवसर रोजिनुले फिल्म दिदीभाइको भावनात्मक सम्बन्ध र सामाजिक दायित्वमा केन्द्रित हुन सक्ने अनुमान गरिएको छ।
यो फिल्म नीताका लागि निर्देशन, लेखन र मुख्य भूमिकासहितको महत्वपूर्ण परियोजना भएकाले यसलाई उनको ‘ड्रिम प्रोजेक्ट’ का रूपमा पनि हेरिएको छ।
ट्राइडेन्ट कन्सेप्टले फिल्मको पोस्टर तयार पारेको हो।
फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, सिरू बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारहरूको अभिनय हेर्न सकिनेछ।
नीता ढुंगाना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता हरिहर अधिकारी हुन्। सुदिप बरालको डिओपी रहेको यस फिल्मको संवाद शिवम् अधिकारीले तयार पारेका हुन्।
शंकर पाण्डे कार्यकारी निर्माता रहेको फिल्ममा साहिल खानको सम्पादन रहनेछ।