बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित तथा प्रतिस्पर्धामा सहभागी ६ चिनियाँ फिल्महरूको काठमाडौं प्रदर्शन बिहीबार सकिएको छ।
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवद्र्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा तीन दिन चलेको थियो। चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेका हुन्।
तीन दिनमा भएका ९ शोमा देखाइएका ६ चिनियाँ फिल्म करिब १४ सय दर्शकले हेरेको आयोजकको दाबी छ। उनीहरूले आफूलाई मन परेको विभिन्न जनराका चिनियाँ फिल्महरू नेपालमा व्यवसायिक प्रदर्शनको अपेक्षा गरेका छन्।
कार्यक्रमपछि नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले चिनियाँ चलचित्रकर्मीहरूले नेपाली बजारलाई गम्भीर रूपमा लिन थालेको अनुभूति भएको बताए। उनले भने, 'चिनियाँ फिल्महरू नेपालमा नियमित तथा व्यावसायिक रूपमा प्रदर्शन हुने वातावरण बन्ने र नेपाली फिल्महरू पनि विभिन्न माध्यमबाट चिनियाँ बजारमा पुग्नेमा हामी आशावादी छौं। यस्ता कार्यक्रमहरू नै दुई देशका फिल्म बजारलाई एकअर्कासँग जोड्ने माध्यम हुन्।'
नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर चोउ पानले चीन र नेपालबीचको यस कार्यक्रममा मन्तव्य राखेका थिए। उनले फिल्मलाई नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानको सबभन्दा जीवन्त माध्यमका रूपमा उल्लेख गरे। कार्यक्रमको पहिला दिन मंगलबार फिल्महरू ‘ट्रयाप्ड’, ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ प्रदर्शन भएको थियो।
दोस्रो दिन बुधबार ‘समर डायरी’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन भए भने अन्तिम दिन बिहीबार ‘लस्ट इन द स्टार्स’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन गरिएको थियो।
पहिलो दिन ‘ट्र्याप्ड’का निर्देशक सागर झाङले प्रदर्शनपछि नेपाली दर्शकसँग प्रश्नोत्तर गरेका थिए। उनले फिल्म आफ्नो किशोरावस्थाका केही अनुभवबाट प्रेरित भए पनि कथा पूर्ण रूपमा काल्पनिक रहेको बताए। सस्पेन्स–क्राइम विधामा बनेको यस फिल्मले सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध लागू हुनुभन्दा एक वर्षअघि जेलबाट भागेका एक गुण्डाले सहरमा मच्चाएको आतंकको कथा प्रस्तुत गर्छ।
झिहाई लिउद्वारा निर्देशित फिल्म ‘बियोन्ड द स्काइज’ले युद्धको कथा समेटेको छ।
सन् १९३५ मा चिनियाँ गृहयुद्धको एक घटनाबारे बनेको यो फिल्मले ४८ घण्टा भित्र शत्रुको गोलाबारुद डिपो ध्वस्त पार्ने अभियानमा निस्केका एक साहसी युवा कम्युनिस्ट सिपाहीको कथा प्रस्तुत गर्दछ। उनका साथमा ३५० सहकर्मी सिपाहीहरूको जीवन खतरामा रहेको परिस्थितिले फिल्मलाई रोचक बनाएको छ।
वु सुआङ निर्देशित ‘समर डायरी’ मरुभूमिमा बस्ने एक बालक आफ्नी आमा खोज्न सहर निस्किँदा विकसित परिस्थिति र उसको जीवनमा आएको परिवर्तनको कथामा बनेको छ।
झाङ लु निर्देशित फिल्म ‘द स्याडोलेस टावर’ एक असफलताको सामना गरिरहेका वृत्तचित्र निर्मातालाई केन्द्रीय भूमिकामा छन्। बेइजिङ सहरको छायाँ र उज्यालोबीच जीवनमा असफलताहरू भोगिरहेका एक वृत्तचित्र निर्माताको रहस्यमयी युवतीसँगको भेट र निकटताबारेको कथा फिल्ममा प्रस्तुत छ।
दाशाङ कोङ निर्देशित ‘जर्नी टु द वेस्ट’ एक पत्रिका सम्पादकको कथामा आधारित छ, जो पत्रिकाको लोकप्रियता घट्दै गए पनि एलियनको खोजीमा निरन्तर लागिरहन्छ। अन्तरिक्षबाट आएको रहस्यमय संकेतपछि उनी फेरि सक्रिय हुने कथालाई हास्य शैलीमा प्रस्तुत गरिएको छ।
सस्पेन्स-क्राइम विधाको ‘लस्ट इन द स्टार’ थाइल्यान्डमा एक गर्भवती महिलालाई भीरबाट खसालिएको वास्तविक घटनाबाट प्रेरित छ। हनिमुनका क्रममा हराएकी नवविवाहित पत्नी र उनलाई मृत ठानिएको अवस्थापछि अचानक सकुशल फर्किने घटनाले फिल्मलाई रोचक बनाएको छ।
कार्यक्रममा काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्र, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको थियो।


