अभिनेता विपिन कार्कीले वरिष्ठ पत्रकार तथा लेखक विजय कुमार पाण्डेसँग मिलेर कथानक फिल्म निर्माण गर्ने भएका छन्।
विपिन अध्यक्ष रहेको कम्पनी लाइट बेन्डर्स प्रा.लि.को ब्यानरमा फिल्म बन्ने भएको हो।
विपिनले शुक्रबार सामाजिक सञ्जालमा विजयकुमारसँगको तस्बिर सार्वजनिक गर्दै सहकार्यबारे उत्साह व्यक्त गरेका छन्। उनले लेखेका छन्, 'आजको भेट केवल एउटा भेटघाटमा सीमित रहेन। यसले आगामी दिनहरूमा सँगै सिर्जना र सहकार्य गर्ने सम्भावनाप्रति अझ उत्साहित बनायो। भविष्यमा हामीले सँगै केही अर्थपूर्ण र स्मरणीय कामहरू गर्ने योजनाले मनमा नयाँ ऊर्जा र उत्साह थपेको छ।'
विपिनले थप लेखेका छन्, 'तपाईंजस्तो अनुभवी, सिर्जनशील र दूरदर्शी व्यक्तित्वसँग सहकार्य गर्ने अवसरलाई म आफ्नो सौभाग्य ठान्छु।'
फिल्मको लेखन तथा निर्देशन विजय कुमारले गर्नेछन्। विपिनका अनुसार फिल्मको विस्तृत घोषणा सेप्टेम्बर अन्त्य वा अक्टोबरतिर गरिनेछ। कलाकारदेखि अन्य सम्पूर्ण जानकारी त्यसबेला दिइने विपिनले बताए।
फिल्मसँगै सोही कथामा आधारित पुस्तक पनि प्रकाशित गर्ने तयारी छ।
फिल्म रिलिजपछि पुस्तक सार्वजनिक गर्ने छलफल भएको विपिनले बताए।