आफ्ना गीत र अभिनयले बलिउडमा विशेष स्थान बनाएका पीयूष मिश्राले आफूले परिवारको अपेक्षाविपरीत कला क्षेत्र रोजेको अनुभव सुनाएका छन्।
चौथो काठमाडौं कलिङ साहित्य महोत्सवमा शनिबार भएको संवादमा उनले आफ्नो बाल्यकाल, थिएटर यात्रा र आत्मकथाबारे खुलेर बोले।
प्रस्तोता युनुश खानसँग 'तुम्हारी औकात क्या है पीयूष मिश्रा' शीर्षकमा बोल्दै उनले आफ्नो आत्मकथा 'तुम्हारी औकात क्या है' लाई जीवनका तीन चरणको कथा बताए।
‘मैले पहिलो २० वर्ष ग्वालियरमा, त्यसपछिका २० वर्ष दिल्लीमा र पछिल्ला वर्षहरू मुम्बईमा बिताएँ। पुस्तकमा यी तीनै सहरसँग जोडिएका संघर्ष, अनुभव र सम्झनाहरू समेटिएका छन्,' उनले भने।
पीयूषको बाल्यकाल सामान्य थिएन। उनले सुनाए, 'म अत्यन्त अन्तर्मुखी थिएँ। सानैदेखि जीवन र मृत्युका प्रश्नहरूले मलाई घेरिरहन्थे।'
परिवार खानदानी भए पनि आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै उनले त्यस्तो परिवेशले आफ्नो सोच र कल्पनाशक्तिलाई फराकिलो बनाएको बताए।
उनका बुवा उनलाई डाक्टर बनाउन चाहन्थे। तर दश कक्षासम्म पुग्दा उनले बुवाको चाहनाअनुसार डाक्टर नबन्ने निर्णय गरिसकेका थिए।
उनले भने, 'एक दिन फेल भएको मार्कसिट बुवाको अगाडि राखेर भनेँ- म डाक्टर बन्न चाहन्नँ, म थिएटरमा जान्छु।'
त्यो समय थिएटर रोज्नु सहज निर्णय नभएको उनको अनुभव छ।
परिवारले 'थिएटर गरेर जीवन कसरी चलाउँछौ?' भनेर प्रश्न गरे पनि आफू निर्णयमा अडिग रहेको उनले बताए। 'उहाँहरूले भन्नुहुन्थ्यो, यसबाट पैसा आउँदैन। मैले भनेँ- पैसा नआए पनि म यही गर्छु,' उनले भने।
मिश्राले जीवनका दुई दशक थिएटरमा समर्पित गरेको उल्लेख गर्दै त्यसैले आफूलाई आजको स्थानसम्म पुर्याएको बताए। पछि उनले नेसनल स्कुल अफ ड्रामामा अध्ययन गरेका थिए। उनका अनुसार त्यो केवल अध्ययनको अवसर मात्र नभई ग्वालियरको सीमित घेराबाट बाहिर निस्कने माध्यम पनि थियो।
संवादका क्रममा उनले आफ्नो जन्मनाम प्रियाकान्त शर्मा रहेको र विद्यालयमा जिस्क्याइएपछि दश कक्षामा पुगेर नाम परिवर्तन गरी पीयूष राखेको प्रसंग पनि सुनाए।
बहुआयामिक प्रतिभाका धनी मिश्राले युवाहरूलाई आफ्नो क्षमतालाई एउटै क्षेत्रमा सीमित नराख्न सुझाव दिए। 'आफूभित्र भएका विभिन्न प्रतिभालाई चिन्नुपर्छ र प्रयोग गर्नुपर्छ। मानिस केवल एउटा कामका लागि मात्र जन्मिएको हुँदैन,' उनले भने।
काठमाडौंप्रति विशेष आत्मीयता रहेको उल्लेख गर्दै मिश्राले आफ्नो ब्यान्डसँग यहाँ प्रस्तुति दिन पाउँदा सधैं खुसी लाग्ने बताए। 'हाम्रो ब्यान्डमा बलिउड गीत छैनन्, हामीले गाउने सबै गीत थिएटरबाट जन्मिएका हुन्,' उनले भने, 'काठमाडौंमा पनि ती गीत प्रस्तुत गर्न उत्साहित हुनेछु।'